पुर्ख्याैली ठेगाना ललितपुर, कुपन्डोल भएका महेश पन्थीको अमेरिकाको भर्जिनियामा निधन भएको छ। फ्रेन्ड्स क्लबका पूर्व खेलाडी उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
पन्थीसहित अमेरिकामा कोरनाबाट मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। गत आइतबार गैरआवासीय नेपाली (संघ) उच्च स्तरीय स्वास्थ्य समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेरिकामा यसअघि ८ नेपालीको मृत्यु भइसकेको छ।
मंगलबार बिहान ९ः३० बजे उनको निधन भएको पारिवार सदस्यले पुष्टि गरेका हुन्।
कोरोना लक्षण देखिएपछि महेश २० दिन अगाडि भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पताल भर्ना भएका थिए। स्वास्थ्य परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो। त्यसपछि उनी अस्पतालमै उपचाररत थिए। परिवार सदस्यका अनुसार उनको त्यहीँ निधन भएको हो।
पछिल्लो समय उनी भर्जिनियाको फल्सचर्चस्थित एबिसी पसलमा काम गर्दै आएका थिए।
सेन्टरभिल शहरमा बसोबास गर्दै आएका उनका श्रीमती, छोरा र छोरी छन्। अस्पतालले शव परिवार सदस्यलाई हस्तान्तरण गरिसकेको छ। भर्जिनिया, स्यानटिलीस्थित अन्त्येष्टि गृहमा शुक्रबारसम्म उनको अन्तिम संस्कार गरिनेछ।
नेपाल छँदा उनी प्रसिद्ध फुटबल खेलाडी थिए। उनी फ्रेन्ड्स क्लबबाट फुटबल खेल्थे।
बाल्टिमोर (मेरिल्याण्ड)का सामाजिक अभियान्ता तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठले पन्थीको निधनमा दुःख प्रकट रेका छन्। ‘महेशजीको निधनले हामी नेपाली समुदायलाई दुःखी बनाएको छ। शोक सन्तप्त परिवारलाई सहन सक्ने शक्ति प्रदान होस् भन्दै श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु’, उनले भने।

प्रतिक्रिया