बिहीबारदेखि भारतको भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धन खरिद सम्बन्धमा अमेरिकाको ‘दोहोरो नीति’मा प्रश्न उठाएका छन्।
बिहीबार बेलुका दिल्ली आइपुगेका उनले अमेरिकाले रुसबाट इन्धन किन्न पाउँछ भने त्यो अधिकार छ भारतलाई पनि हुने टिप्पणी गरेका हुन्।
इन्डिया टुडेसँग कुरा गर्दै पुटिनले भनेका छन्, ‘अमेरिकाले रुसबाट आणविक रिएक्टर इन्धन उत्पादन गर्न आवश्यक युरेनियम खरिद गरिरहेको छ, तर भारतलाई रुसबाट ऊर्जा आयात रोक्न दबाब दिइरहेको छ।’
उनले थपे, ‘यदि अमेरिकालाई रुसबाट इन्धन किन्ने अधिकार छ भने भारतलाई पनि त्यो अधिकार हुनुपर्छ।’
यस विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न आफू तयार रहेको पनि उनले बताए।
पुटिनले भने, ‘यस सवालको विस्तृत अनुसन्धान आवश्यक छ र यस विषयमा हामी राष्ट्रपति ट्रम्पसहित छलफल गर्न तयार छौँ।’
अमेरिकाले रुसबाट तेल किनेको भन्दै भारतविरुद्ध २५ प्रतिशत पारस्परिक करका अतिरिक्त थप २५ प्रतिशत कर लगाएको छ।
दुईदिने भारत भ्रमणका लागि पुटिन बिहीबार बेलुका दिल्ली विमानस्थल ओर्लिँदा उनलाई स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ त्यहाँ पुगेका थिए।
Shares

प्रतिक्रिया