सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मंगलबार जनाएको छ। यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो।
सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलोपटक उच्च विन्दुमा पुगेको थियो।
‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ को तथ्यांकले विश्वव्यापी तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसले बढ्ने बाटोमा रहेको कुरा पुनः पुष्टि गर्दछ।
यो सीमा सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो। सेवाको मासिक अपडेटअनुसार, जनवरी र नोभेम्बरको बीचमा औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेका र रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ।
“सन् २०२३/२५ को तीन वर्षे औसत तापक्रम पहिलोपटक १.५ डिग्री सेल्सियसभन्दा बढी हुने बाटोमा छ’, को पर्निकसकी जलवायु रणनीतिक प्रमुख सामन्था बर्गसले विज्ञप्तिमा भनेकी छन्।
“यी उपलब्धिहरू अमूर्त छैनन् तर तिनीहरूले जलवायु परिवर्तनको तीव्र गतिलाई प्रतिबिम्बित गर्छन्। भविष्यमा बढ्दो तापक्रमलाई कम गर्ने एक मात्र तरिका हरितगृह ग्यास उत्सर्जनलाई द्रुत रूपमा घटाउनु हो,” बर्गसले भनिन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वले आगामी केही वर्षमा ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्न नसक्ने चेतावनी अक्टोबरमा दिएका थिए।
कोपर्निकसका अनुसार, गत महिना औद्योगिक पूर्वको स्तरभन्दा १.५४ डिग्री सेल्सियसले बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो नोभेम्बर बनेको थियो।
गत महिना औसत सतहको हावाको तापक्रम १४.०२ डिग्री सेल्सियस पुगेको थियो। यस्तो क्रमिक वृद्धि सानो देखिन सक्छ तर यसले पहिले नै जलवायुलाई अस्थिर बनाइरहेको छ र आँधी, बाढी तथा अन्य विपद्हरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
अनुगमनकर्ताले भनेको छ, “यो महिना दक्षिणपूर्वी एसियामा उष्णकटिबन्धीय चक्रवातसहितका धेरै चरम मौसमी घटनाहरूका लागि चिनिएको थियो। यसले व्यापक, विनासकारी बाढी र जनधनको क्षति गराएको थियो।”
जीवाश्म इन्धन नियन्त्रणको लडाइँ
नोभेम्बरमा फिलिपिन्स लगातार आँधीबेहरीको चपेटामा पर्यो, जसमा करिब २६० जनाको मृत्यु भयो भने इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा पनि ठूलो बाढी आएको थियो।
सेप्टेम्बरदेखि नोभेम्बरसम्म, उत्तरी गोलार्धको शरद ऋतुको लागि विश्वव्यापी औसत तापक्रम पनि सन् २०२३ र सन् २०२४ पछि रेकर्डमा तेस्रो सबैभन्दा उच्च रहेको थियो।
“समग्रमा विश्वभर र खासगरी उत्तरी क्यानडा, आर्कटिक महासागरमाथि र अन्टार्कटिकाभरि तापक्रम सामान्यतया औसतभन्दा माथि देखिएको मौसम अनुगमनकारी उक्त संस्थाले जनाएको छ।
यद्यपि उत्तरपूर्वी रुसमा उल्लेखनीय चिसोको विसङ्गति देखिएको थियो। सन् १९४० तथ्यांक रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौं भूउपग्रह र मौसमका मापन प्रयोग गरेर तथ्यांकको रेकर्ड लिन्छ।
खासगरी औद्योगिक क्रान्तिदेखि ठूलो मात्रामा जलाइएको जीवाश्म इन्धनबाट निस्कने ग्यास र मानवजातिले उत्सर्जन गरेका पृथ्वीलाई तताउने ग्यासहरूले विश्वव्यापी तापक्रमलाई अझ बढाएको छ।
सन् २०२३ मा दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलन ( कोप २८ )मा राष्ट्रहरूले जीवाश्म इन्धनबाट रूपान्तरण गर्न सहमति जनाएका थिए तर त्यसयता यी महत्वाकांक्षा रोकिएका छन्।
ब्राजिलको बेलेममा भएको कोप-३० सम्मेलन गत महिना समाप्त भयो, जसमा जीवाश्म इन्धन उत्पादन गर्ने देशहरूको आपत्तिपछि तेल, ग्यास र कोइलालाई क्रमशः हटाउने नयाँ, स्पष्ट आह्वानबाट बच्ने सम्झौता भएको थियो। (रासस/एएफपी)
Shares

प्रतिक्रिया