ग्लोबल


कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने थाइल्यान्डको माग, हालसम्म ३२ को मृत्यु

कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने थाइल्यान्डको माग, हालसम्म ३२ को मृत्यु

नेपालखबर
पुस १, २०८२ मंगलबार १६:५६,

थाइल्यान्ड र कम्बोडिया दस दिनदेखि लडिरहेका छन्। लडाइँ रोक्ने हो भने कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने माग थाइल्यान्डले राखेको छ।

‘थाई भूमिमा आक्रमण गरेको हुनाले कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ,’ थाई विदेश मन्त्रालयकी प्रवक्ता नलिता अन्दामोले भनेकी छन्।

उनले कम्बोडियाले सीमा क्षेत्रमा बिछ्याइएका बारुदी सुरुङ हटाउन पनि सघाउनुपर्ने बताइन्।

गत जुलाईमा पाँच दिन लडेर उनीहरू रोकिएका थिए। अक्टोबरमा डोनाल्ड ट्रम्पले उनीहरूबीच एउटा सम्झौतामा हस्ताक्षर गराएका थिए। तर, सीमामा गस्ती गरिरहेका आफ्ना सैनिक धरापमा परी घाइते भएपछि थाइल्यान्डले सो सम्झौता खारेज गरेको थियो।

ट्रम्पले गराएको सम्झौता उल्लंघन गर्दै यी दुई छिमेकीबीच फेरि लडाइँ सुरु भएयता ३२ जनाको ज्यान गइसकेको छ। मारिनेमा सैनिक र सर्वसाधारण दुवै छन्। सीमा क्षेत्रबाट करिब ८ लाख मानिस विस्थापित भएको बताइएको छ।

दुवैले एकअर्कामाथि युद्ध सुरु गरेको आरोप लगाएका छन्।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले मलेसियाको अगुवाइ र अमेरिकाको सहभागितामा सुरु भएको युद्धविराम पहललाई समर्थन गर्ने बताएका छन्। 

सीमाको खिचोलालाई लिएर सुरु भएको झगडा विस्तार हुँदै जाँदा थाइल्यान्डले आफ्नो भित्री भूमिसम्म आक्रमण गरेको आरोप कम्बोडियाले लगाएको छ। सैन्य शक्तिमा थाइल्यान्ड माथि छ।

हालसम्म १६ थाई सैनिक, एक थाई सर्वसाधारण र १५ कम्बोडियाली सर्वसाधारण मारिएको बताइएको छ। कम्बोडियाले हालसम्म आफ्नो सेनामा भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad