भेनेजुएलाका अधिकारीले अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ४० जना मारिएको बताएका छन्।
न्युयोर्क टाइम्सले अधिकारीहरूलाई उद्धधृत गर्दै लेखेको खबरअनुसार मृतकमा सर्वसाधारण र सैन्य कर्मचारी छन्।
पीडित परिवारका अनुसार काराकासबाहिर अमेरिकी हवाई आक्रमणमा कम्तीमा एकजना सर्वसाधारण मारिएका छन्।
न्युयोर्क टाइम्सले भेनेजुएलाको राजधानी काराकासको काटिया ला मारमा तीनतले नागरिक अपार्टमेन्ट भवनमा हवाई आक्रमण गरिँदा कम्तीमा एक वृद्ध महिलाको मृत्यु भएको र अर्का व्यक्ति गम्भीर घाइते भएको उल्लेख गरेको छ।
भेनेजुएलाका सरकारी स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले राजधानी काराकासका साथै मिरान्डा, अरागुआ र ला गुएरामा रहेका सैन्य लक्ष्यमा आक्रमण गरिएको उल्लेख गरेका छन्।
यसअघि शनिबार भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मारिनेमा सर्वसाधारण र सैन्य कर्मचारी दुवै भएको बताए पनि संख्या बताउन सकिनन्।
उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार फक्स न्युजसँग मदुरोलाई कब्जा गर्ने क्रममा केही अमेरिकी सैनिक घाइते भए पनि कोही नमारिएको बताएका थिए।
एउटा अमेरिकी सैन्य विमानमा भने क्षति पुगेको तर त्यो पनि सुरक्षित फर्किएको दाबी उनले अन्तर्वार्तामा गरेका छन्।
अमेरिकी सेनाले शनिबार भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई नै पक्रेर अमेरिका पुर्याएको छ।
लागुऔषध र हतियारसम्बन्धी आरोपमा मदुरोलाई अहिले न्युयोर्कको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) को हिरासतमा राखिएको छ।
अर्को हप्ता उनलाई म्यानहट्टनको संघीय अदालतमा उपस्थित गराइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया