नेपालीको रोजगार गन्तव्य खाडी मुलुक बहराइनमा थप ८८ जना नेपाली कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित भएका छन्। मनामास्थित नेपाली दूतावासका अनुसार यो सहित त्यहाँ संक्रमित हुने नेपालीको संख्या २४५ पुगेको छ।
‘पछिल्लो समय संक्रमणका केसहरु बढ्दा त्यसमा नेपालीहरु पनि परेका हुन्’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपालखबरसँग टेलिफोनमा भने, ‘सोमबार र मंगलबार गरेर ८८ जना नेपालीमा कोरोना देखिएको हो। उनीहरुको उपचार भइरहेको छ।’
यसअघि त्यहाँ संक्रमित नेपालीको संख्या १५७ थियो। रोजगारीका लागि बहराइनमा करिब ३० हजार नेपाली छन्।
बहराइन सरकारले हरेक दिन नेपालीको अवस्थाबारे दूतावासलाई प्रतिवेदन दिने गरेको छ। बुधबारको प्रतिवेदन आउन बाँकी रहेको राजदूत सुन्दासले बताए।
बहराइनमा कोरोनाबाट ३ हजार ७२० जना संक्रमित भएका छन्। ८ जनाको मृत्यु भएको छ। १ हजार ७६२ जना उपचारपछि डिस्चार्ज भएका छन्।
नेपालीको अवस्था संकलन गर्दै दूतावास
कोरोना महामारी बढ्दै जाँदा बहराइनमा रहेका नेपालीको अवस्था नाजुक छ। केही कोरोनाबाट संक्रमित भएका छन्। कतिले रोजगारी गुमाएका छन्। नेपाली दूतावासले उनीहरुको वास्तविक अवस्था संकलन गरिरहेको जनाएको छ। ‘बहराइनमा रहेका सबै नेपालीको समस्या एकीकृत गरी त्यसको समाधान खोज्न फारम भराउने काम गरिरहेका छौं’, राजदूत सुन्दासले भने, ‘कोरोना महामारीपछि नेपालीको वास्तविक अवस्था निकाल्ने यो प्रयास गरिएको हो।’
दूतावासका अनुसार त्यस्तो फारम बुधबारसम्म ३ सय ३३ भरेका छन्। यो क्रम जारी छ। सबैको अवस्था संकलन गरेपछि दूतावासले सो विवरण नेपाल पठाउनेछ। ‘काम रोकिएर अप्ठ्यारोमा रहेका एवं नेपाल फर्किन चाहने रहेछन् भने पनि हामी त्यो विवरण नेपाल पठाउँछौं। यसले समाधान खोज्न सहज हुनेछ’, उनी भन्छन्।
दूतावासले बुधबार जारी गरेको कोरना अपडेट


प्रतिक्रिया