अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गर्ने निर्णय रद्द गरेको दाबी गरिएको छ।
अमेरिकाकै पत्रिका वासिङ्टन पोस्टले ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै ट्रम्प अब इरानमा आक्रमण नगर्ने मनस्थितिमा पुगेको समाचार छापेको हो।
पत्रिकाले लेखेको छ, ‘इरानी सरकारले अमेरिकालाई पठाएको एउटा सन्देशपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने निर्णय रद्द गरेका छन्।’
रिपोर्टअनुसार ‘इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई पठाएको सन्देशले स्थिति शान्त पारेको छ, संकट टारेको छ।’
रिपोर्टमा दाबी गरिएको छ, ‘त्यो टेक्स्ट म्यासेजमा भनिएको छ- प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने इरानी सरकारको कुनै मनसाय छैन।’
त्यो सन्देश आएपछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘हामी हेर्दै जानेछौँ अब के हुन्छ?’
अमेरिकी अधिकारीले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘बिहीबार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले मृत्युदण्ड दिइएको छैन भनेर पुष्टि गर्यो।’
रिपोर्टमा अगाडि भनिएको छ, ‘इरानले अमेरिकाले सैन्य हतियार र सेना तैनाथ गरिरहेको छ र कुनै पनि समयमा आक्रमण हुन सक्छ भन्ने महसुस गरेको थियो।’
वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा खाडी देशका एक कूटनीतिज्ञलाई पनि उद्धृत गरेको छ।
पत्रिकाले कूटनीतिज्ञलाई उद्धृत गर्दै लेखेको छ, ‘साउदी अरेबिया, कतार, ओमान, इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता क्षेत्रका केही देशले सर्वसम्मतिले ह्वाइट हाउसलाई सम्पर्क गरे र ट्रम्पलाई इरानमा आक्रमण नगर्न अनुरोध गरे।’
यसअघि सीएनएनले पनि साउदी अरेबिया, कतार र ओमानजस्ता देशले अमेरिकालाई सम्पर्क गरेको दाबी गरेको थियो।
Shares

प्रतिक्रिया