इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार जनाएका छन्।
इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर आपराधिक क्रियाकलाप गरेको जनाएको छ।
यद्यपि पक्राउ परेका व्यक्तिहरूको राष्ट्रिय पहिचान खुलाइएको छैन भने प्रदर्शनकारीहरूसँग सम्बन्धित मुद्दा समीक्षाका क्रममा पक्राउ परेकामध्ये १३९ जना विदेशी नागरिक भएको निष्कर्ष निकालिएको प्रहरी प्रमुख अहमद नेगाहबानले बताएका छन्।
तेहरानले प्रदर्शनका क्रममा तीन हजार जनाभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ।
मृतकमा अधिकांश सुरक्षा बलका सदस्य र निर्दोष दर्शक रहेको बताइएको छ।
द ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले ६ हजार ८५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमा अधिकांश प्रदर्शनकारी सुरक्षा बलद्वारा मारिएका छन्।
यसैबिच अन्य अधिकारवादी समूहले मृतकको संख्या अझ धेरै हुन सक्ने दाबी गरेका छन्।
इरानी अधिकारीहरूले अमेरिका र इजरायलले हिंसा भड्काएको आरोप लगाएका छन्।
Shares

प्रतिक्रिया