इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबननमा शृंखलाबद्ध आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
इजरायलले दक्षिणी लेबननको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरमा आक्रमण गरेको बताइएको छ।
यसैबिच लेबननको राजधानी बेरुतको दक्षिणी उपनगरका केही भागमा आक्रमण विस्तार गर्ने इजरायली धम्कीपछि विस्थापित बासिन्दाको आवागमन बढेको पाइएको छ।
लेबननको जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।
अप्रिल १६ देखि लागु युद्धविराम सम्झौताका बाबजुद इजरायलले दक्षिणी लेबननमा आक्रमण जारी राखेको हो।
निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाबिच मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको थियो।
Shares

प्रतिक्रिया