पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ चीनको भ्रमणमा छन्। यस क्रममा मंगलबार पाकिस्तान र चीनले संयुक्त विज्ञप्ति जारी गरेका छन।
जसमा पाकिस्तानले आफ्नो भूभागमा रहेका चिनियाँ जनता, परियोजना र संस्थाको सुरक्षा सुनिश्चित गर्न विशेष उपाय अपनाउने बताएको छ भने चीनले आतंकवादविरुद्ध पाकिस्तानको लडाइँलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले जम्मु-कश्मीरको पछिल्लो अवस्थाबारे चीनलाई जानकारी गराएको छ, जसमा चीनले यो विवाद पुरानो भएको र संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषद्को प्रस्ताव र द्विपक्षीय सम्झौताअनुसार शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने बताएको छ।’
अगाडि लेखिएको छ, ‘दुवै देशले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय कानुनमा आधारित प्रणालीको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।’
साथै चीन र पाकिस्तानले सीमापार जलस्रोतमा सहकार्य गर्ने इच्छा पनि प्रकट गरेका छन्। चीनले सांघाई सहयोग संगठनको अर्को अध्यक्ष बन्ने पाकिस्तानको प्रयासलाई पनि समर्थन गर्ने जनाएको छ।
यस्तै मध्यपूर्वमा शान्ति स्थापनाका लागि जारी प्रयासमा पनि दुवै देशले समर्थन गरेका छन्।
चीनले अमेरिका र इरानबिच पाकिस्तानले गरेको मध्यस्थताको पनि प्रशंसा गरेको छ।
Shares

प्रतिक्रिया