अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरूबीच फिजीमा संयुक्त रुपमा एउटा बन्दरगाह बनाउने सहमति भएको छ। मंगलबार नयाँ दिल्लीमा सम्पन्न क्वाड राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा दुर्लभ खनिज र ऊर्जा सुरक्षासम्बन्धी सम्झौताहरूमा पनि हस्ताक्षर भएको छ।
बैठकमा अस्ट्रेलियाकी पेनी वङ, भारतका एस जयशंकर, जापानका तोसिमित्सु मोटेगी र अमेरिकाका मार्को रुबियो सहभागी थिए। उनीहरूले पहिलो पटक संयुक्त पूर्वाधार परियोजना अघि बढाउने भएका हुन्।
चीनलाई टक्कर दिनेगरी सुरु गरिएको यो चौपक्षीय पहल गत वर्ष डोनाल्ड ट्रम्पले भारतलाई भन्सार महसुल लगाएपछि कमजोर बनेको थियो। जसका कारण भारतमा हुनुपर्ने शीर्ष नेताहरूको बैठक हुन सकेको थिए।
तर, यो बैठकमा रुबियोले साझेदारीका लागि आफूहरू प्रतिबद्ध भएको भन्दै अन्य सदस्य मुलुकलाई आश्वस्त तुल्याउने कोसिस गरे।
‘हामीले वास्तविक उपलब्धि देखाउन सुरु गरेका छौँ,’ रुबियोले भने, ‘हामी यो साझेदारीमा अत्यन्त प्रतिबद्ध छौँ, यो हाम्रो विश्वव्यापी रणनीतिको आधारशिला हो।’
चार मुलुकले जारी गरेको २८ बुँदे संयुक्त वक्तव्यमा पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थालाई लिएर उनीहरू चिन्तित रहेको उल्लेख गरिएको छ। यसबारे प्रतिक्रिया दिँदै चीनले मुलुकहरूबीच हुने कुनै पनि सहकार्यले तेस्रो मुलुकलाई लक्षित गर्न नहुने बताएको छ।
चीनले क्वाड शीतयुद्धकालीन मानसिकताको उपज भएको बताउँदै आएको छ।
यसअघिका क्वाड वक्तव्यहरूले सधैँ आगामी शिखर बैठक कहाँ हुने भनेर निश्चित गर्ने गरेको थियो। यसपटकको वक्तव्यमा सो ठेगाना उल्लेख गरिएको छैन। मात्र ‘अर्को शिखर बैठकको प्रतीक्षामा छौँ’ भनिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया