लामो समयको अन्योल र पर्खाइपछि काठमाडौं उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डको काम अघि बढ्ने भएको छ।
आगामी दुई महिनाभित्रै कलंकीदेखि वसुन्धरासम्मको सडक विस्तार हुने चक्रपथ विस्तार आयोजनाले जनाएको हो।
दोस्रो खण्डको डिजाइन टुंग्याउन नेपालबाट सडक विभागका उपमहानिर्देशक अर्जुन अर्याल नेतृत्वको टोली चाँडै चीन जाने चक्रपथ विस्तार आयोजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्।
‘नेपाली टोली गएपछि दुईपक्षीय छलफलबाट डिजाइन हप्ता/दश दिनमा टुंगिने कुरा छ। त्यसपछि उहाँहरूले एउटा कार्ययोजना दिनुहुन्छ। सोहीअनुसार दुई महिनाभित्र काम सुरु हुनसक्छ’, उनले नेपालखबरसँग भनिन्।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार हुने ८.२ किमि लामो यो खण्ड चीनको सहरी रोड स्ट्यान्डर्डअनुसार ८ लेनमा विस्तार हुनेछ। विस्तारसँगै कलंकीदेखि वसुन्धरासम्म ३८.५ मिटर फराकिलो हुनेछ। सडकमा ३ मिटरको मेडियनसहित दायाँ र बायाँ २.७५ मिटर मिटरको सर्भिस लेन, १४ मिटरको मुख्य लेन र ०.५ मिटरको स्ट्रिम हुने आयोजनाले जनाएको छ।

चक्रपथ विस्तारको सम्झौताअनुसार पहिलो कलंकी–कोटेश्वर खण्डको काम २०७५ मा सकिएको थियो। पहिलो खण्ड सकिनुअगावै दोस्रो खण्डको सम्झौता भए पनि कोभिड महामारी र अन्य कुराहरुमा भएको ढिलासुस्तीले विस्तार अघि बढ्न सकेको थिएन।
त्यसपछि पनि चिनियाँ पक्षले लामो समयसम्म ‘साइट क्लियर’ नभएको भन्दै विस्तार कार्य अघि बढाउन मानेको थिएन। अहिले साइट क्लियरेन्सको समस्या नभएको आयोजना प्रमुख पोखरेलले बताइन्।
‘साइट क्लियरेन्सको त्यस्तो ठूलो समस्या छैन। अब हामी डिजाइन नै कुरिरहेका छौँ’, उनले भनिन्, ‘डिजाइन फाइनल भएपछि टेन्डर प्रक्रिया चीनमै सकिएर टोली नेपाल आउँछ।’
उनका अनुसार चीन आफैँले निर्माण कम्पनी छनोट गरेर चक्रपथ विस्तारको लागि नेपाल पठाउनेछ।
चक्रपथको पहिलो खण्ड कलङ्की–कोटेश्वर विस्तारका क्रमका प्राविधिक त्रुटि भएको भन्दै विरोध समेत भएको थियो भने सडक विभागले आफ्नै लगानीमा केही संरचनाहरु थप गरेको थियो। यसपटक यस्ता त्रुटिलाई ध्यानमा राखेर काम हुने पोखरेलको दाबी छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले पनि दोस्रो खण्डमा धेरै कुरामा ध्यान दिएर विस्तारको काम हुने बताए।
उनले भने, ‘दोस्रो खण्डमा पहिलो खण्डको तुलनामा पैदलयात्रु र सहरमैत्री सडक बनाउन जोड दिनेछौँ।’
सडक विस्तारका लागि धेरै अगाडि नै बाटो खनेर अव्यवस्थित रुपमा छाडिँदा दैनिक सयौँ सवारीसाधनले जामको समस्या झेल्नुका साथै सर्वसाधारणले हिलो र धूलोको सास्ती खोप्दै आएका छन्। अब यो समस्या समाधान हुने उनको भनाइ छ।
पहिलो खण्डअन्तर्गत कलंकी–कोटेश्वरमा चिनियाँ पक्षले साइट क्लियरेन्सविना नै काम गर्दा ढिलाइ भएको थियो। २०७० मा विस्तार सुरु गरिएको उक्त सडकको काम २०७३ मा सक्ने लक्ष्य राखिएकामा २ वर्ष ढिला कार्य सम्पन्न भई हस्तान्तरण भएको थियो।
हस्तान्तरणसँगै सहरी मापदण्डमा नबनेको भन्दै विरोध भएपछि लेन छुट्याउने, ग्वार्कोमा ओभरपास बनाउने लगायतका काम नेपाल सरकारले आफ्नै लगानीमा गरेको थियो।

सडक विभागका अनुसार पहिलो खण्डको कमजोरी दोस्रो खण्डमा सुधार गरी चिनियाँ पक्षले डिजाइन गरेको छ। सोहीअनुसार दोस्रो खण्डमा पैदलयात्रीका लागि चारवटा आकाशे पुल निर्माण हुनेछ। हालको गोंगबु बसपार्कनजिकको विष्णुमती पुल भत्काएर ४ लेनको ओभरपास निर्माण गरिनेछ।
सर्भिस लेनका लागि दायाँ र बायाँ दुईवटा नयाँ पुल निर्माण गरिनेछ। त्यसैगरी वनस्थली–ढुंगेधारा क्षेत्रमा अन्डरपास निर्माण गरिनेछ। सडकमा १३ कल्भर्ट, ११ इन्टरसेक्सनजस्ता संरचनाहरु बन्नेछन्।
यद्यपि डिजाइन अन्तिम भएपछि मात्र यसको टुंगो लाग्नेछ।

‘चक्रपथको दोस्रो खण्ड ग्रान्ट प्रोजेक्ट हो। यो नागढुङ्गा सुरुङ परियोजनाजस्तो होइन’, पोखरेलले भनिन्, ‘दोस्रो खण्डमा ओभरपास, अन्डरपास, आकाशे पुल, सडकमा बिजुलीलगायतका सबै काम चीन सरकार आफैँले गर्नेछ।’
दोस्रो खण्डको लागत भने पहिलोको तुलनामा धेरै हुने देखिएको छ।
१०.३९ किलोमिटरको पहिलो खण्ड ५ अर्बमा विस्तार भए पनि दोस्रो खण्डमा १२ अर्ब हाराहारी लाग्ने प्रारम्भिक अनुमान छ।
















भिडिओ (सरोज नेपाल)

प्रतिक्रिया