ग्लोबल


अभिनेत्रीले बलात्कार आरोप लगाएका उद्योगपति सज्जन जिन्दल को हुन्? यस्तो छ उनको विगत

अभिनेत्रीले बलात्कार आरोप लगाएका उद्योगपति सज्जन जिन्दल को हुन्? यस्तो छ उनको विगत

उद्योगपति सज्जन जिन्दल


नेपालखबर
पुस २, २०८० सोमबार २१:४०, काठमाडौँ

एक अभिनेत्रीले बलात्कार आरोप लगाउँदै मुद्दा दर्ता गराएपछि भारतका उद्योगपति सज्जन जिन्दल यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्। यो खबरको प्रभाव सेयर बजारमा पनि देखिएको छ।

आखिर को हुन् उनी?

जिन्दल परिवारको विस्तारको कथा सन् १९३० बाट सुरु हुन्छ। ओमप्रकाश (ओपी) जिन्दलको जन्म हरियाणाको हिसारको नलवा गाउँको एक किसान परिवारमा भएको थियो।

बढ्दै जाँदा उनले एक दिन स्टिल पाइपमा मेड इन इङ्गल्यान्ड लेखिएको देख्छन्। इकोनोमिक टाइम्सको रिपोर्टअनुसार ओमप्रकाशको मनमा यस्ता पाइप किन भारतमा बन्दैनन् र त्यसमा मेड इन इन्डिया किन लेखिएको हुँदैन भन्ने प्रश्न उठ्यो। 

यहाँबाट ओमप्रकाश जिन्दलको प्रगतिको कथा सुरु हुन्छ। सन् १९५२ मा बाल्टिन निर्माण कम्पनीबाट सुरु भएको कथा सन् १९६४ मा जिन्दल इन्डिया लिमिटेड नामक पाइप निर्माण गर्ने कम्पनीसम्म पुग्छ।

कम्पनीको वेबसाइटअनुसार जिन्दल स्ट्रिप्स लिमिटेड नामको ठूलो कारखाना सन् १९६९ मा सुरु भएको थियो।

ओपी जिन्दल कांग्रेसको हात समातेर राजनीतिमा आए। उनी तीनपटक विधायक बने र सन् १९९६ मा लोकसभा पनि पुगे।

सन् २००५ मा हेलिकप्टर दुर्घटनामा ओपी जिन्दलको मृत्यु हुँदा सबैको नजर उनका दुई छोरा सज्जन, नवीन र श्रीमती सावित्री जिन्दलतर्फ मोडियो।

गत हप्ता (१२ डिसेम्बर, २०२३ मा) फोर्ब्सले सावित्री जिन्दलको नाम भारतको शीर्ष १० धनी महिलाको सूचीमा समावेश गरेको छ। फोर्ब्सको सोही रिपोर्टमा सावित्री जिन्दलको कूल सम्पत्ति २९ अर्ब डलर रहेको बताइएको छ।

फोर्ब्सका अनुसार सावित्री जिन्दलको परिवार मुकेश अम्बानी, गौतम गडानी र शिव नाडर पछि भारतको चौथो धनी परिवार हो।

सावित्री जिन्दल पनि राजनीतिमा प्रवेश गरेकी छन्  उनले द्दण्ण्छ मा हिसार, हरियाणाबाट विधानसभा चुनाव जिते। उनी २००५ मा पुनः निर्वाचित भइन् र २०१३ मा हरियाणा सरकारमा क्याबिनेट मन्त्री बनिन्।

सावित्रीका दुई छोरा पनि जिन्दल कम्पनीका विभिन्न एकाइका प्रमुख हुन्। नवीन जिन्दल कान्छा छोरा र सज्जन जिन्दल जेठा हुन्।

सज्जन जिन्दलबारे केही कुरा

उद्योगपति सज्जन जिन्दल

सज्जन जिन्दलले मेकानिकल इन्जिनियरिङ पढेका छन्। उनी हाल ६४ वर्षका छन्।

सज्जन जिन्दलले संगीता जिन्दलसँग विवाह गरेका थिए र उनीहरूका दुई छोरी तारिणी, तन्वी र एक छोरा पार्थ छन्।

कम्पनीको वेबसाइटअनुसार सज्जन जिन्दलले १९८२ मा स्टिल प्लान्टबाट आफ्नो करियर सुरु गरेका थिए।

सन् २००५ मा हेलिकप्टर दुर्घटनामा उनका बुबा ओपी जिन्दलको मृत्यु भएपछि सज्जन जिन्दलले आफ्नो बुबाको विरासत ओपी जिन्दलको सहायक स्टिल कम्पनी जेएसडब्ल्यू सम्हाले। 

वर्ल्ड स्टिल वेबसाइटका अनुसार,जेएसडब्ल्यू भारतको दोस्रो तथा विश्वको १५औँ ठूलो कम्पनी हो।

स्टिलबाहेक सज्जन जिन्दलको कम्पनीले ऊर्जा क्षेत्रमा पनि काम गरिरहेको छ। यो कम्पनी टाटा, अदानी र रिलायन्सपछि ऊर्जा क्षेत्रमा चौथो ठूलो कम्पनी हो।

स्टिलको दुनियाँमा सज्जन जिन्दल एक ठूलो नाम हो र उनी धेरै अवार्डबाट सम्मानित पनि छन्।

सज्जन जिन्दलका छोरा पार्थ जेएसडब्ल्यू सिमेन्ट कम्पनीका प्रमुख हुन्। जेएसडब्ल्यूले केही वर्ष पहिले पेन्ट व्यवसायमा पनि थालेको छ।

कम्पनीको वेबसाइटका अनुसार २३ अर्ब डलरको यो कम्पनी खानी, ऊर्जा, खेलकुद, सिमेन्ट, रंग, पूर्वाधार, सफ्टवेयरको व्यवसायमा समेत संलग्न छ।

सज्जन जिन्दलले सन् २०१४ मा राष्ट्रिय खेलकुद प्रवर्द्धन पुरस्कार पनि पाएका छन्। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad