अमेरिकी सेनाले लगातार दोस्रो रातको आक्रमणमा इरानका ९० वटा लक्ष्यमा हवाई हमला गरिएको बताएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले एक्समा आक्रमणको भिडिओ पोस्ट गर्दै लेखेको छ, ‘आक्रमण होर्मुज स्ट्रेटमा व्यावसायिक जहाज र निर्दोष नाविकलाई आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर पार्ने उद्देश्यले गरिएको हो।’

सेन्टकमले इरानका हवाई रक्षा प्रणाली, तटीय निगरानी उपकरण, क्षेप्यास्त्र र ड्रोन भण्डारण, नौसेना क्षमता र तटीय क्षेत्रका सैन्य रसद पूर्वाधारमा हमला गरिएको जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा गएराति नै बदला हमला गरिएको पुष्टि गरेको छ।

आईआरजीसीले यो अमेरिकाले युद्धविराम तोडेको सजाय भएको बताएको छ।
र, अमेरिकालाई चेतावनी दिँदै अगाडि भनेको छ, ‘यदि अमेरिकाको आक्रमण जारी रह्यो भने इरानले यस क्षेत्रका अन्य अमेरिकी अड्डालाई पनि निसाना बनाउनेछ।’
इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा अमेरिकाले गरेको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।
सिस्तान र बलुचिस्तान प्रान्तका उपगभर्नर र इरानसहरका गभर्नरले स्थानीय समयअनुसार बुधबार राति १२:३० बजेतिर सहरभरि चारवटा ठुला विस्फोट सुनिएको बताएका छन्।
इरानको एकमात्र समुद्री बन्दरगाह र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार केन्द्र सञ्चालन गर्ने चाबहार फ्रि जोन अर्गनाइजेसनका प्रमुखले चाबहारका क्षेत्रमा अमेरिकाको आक्रमणपछि अधिकारीहरूले गोदामका सवारीसाधन हटाउन थालेको बताएका छन्।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार होर्मुज स्ट्रेटमा जहाजहरूमा भएको आक्रमणको बदलामा यो हमला गरिएको हो।
अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनका क्रममा बुधबार राति इरानविरुद्ध अर्को ठुलो आक्रमण गरिने बताएका थिए।
यसअघि उनले द्वन्द्व अन्त्यका लागि इरानसँग गरिएको समझदारी ‘समाप्त’ भएको घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया