बेलायतको आगामी प्रधानमन्त्री सत्तारुढ दल लेबर पार्टीका सांसद एन्डी बर्नह्याम बन्ने सम्भावना बढेको छ।
वर्तमान प्रधानमन्त्री किअर स्टार्मरले गत जुन २२ तारिख लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेपछि उक्त दलले नयाँ नेता चयन प्रक्रिया अघि बढाएको हो।
बिहीबार सुरु उम्मेदवारी दर्ताका क्रममा बर्नह्यामलाई अहिलेसम्म ३२२ लेबर सांसदले समर्थन व्यक्त गरेका छन्। हालसम्म यस पदका लागि उम्मेदवारी घोषणा गर्ने उनी एक मात्र उम्मेदवार हुन्।
अर्का उम्मेदवार खडा नभए ५६ वर्षीय एन्डी बर्नह्याम लेबर पार्टीको आगामी नेता र बेलायतको प्रधानमन्त्री बन्ने निश्चित छ।
लेबर पार्टीको कार्यकारिणी समिति (एनईसी) ले उम्मेदवारी दर्ताका लागि जुलाई १५ सम्मको समय तोकेको छ।
त्यसबेलासम्म कसैले उम्मेदवारी नदिए बर्नह्यामलाई अर्को हप्ता लेबर पार्टीको नेता घोषणा गरिनेछ भने जुलाई २० मा प्रधानमन्त्री पदको शपथ खानेछन्।
ग्रेटर म्यानचेस्टरका पूर्वमेयर बर्नह्यामका लागि यो सत्तारोहण असाधारण राजनीतिक यात्रा हुनेछ। उनी केही हप्ताअघि मात्र मेकरफिल्डबाट उपचुनाव जितेर सांसद बनेका हुन्।
बर्नह्यामले विज्ञप्ति जारी गरी भनेका छन्, ‘मलाई पार्टी नेताका लागि मनोनयन गर्ने लेबर सांसदहरूप्रति म एकदमै आभारी छु।’
उनले आफ्नो समर्थनमा उभिएका ३२२ लेबर सांसदलाई धन्यवाद ज्ञापन गरेका छन्।
उनले भनेका छन्, ‘मलाई पार्टीका विभिन्न वर्गबाट समर्थन प्राप्त भएको छ, जसले बेलायतलाई राजनीतिमा नयाँ दृष्टिकोण चाहिन्छ भन्ने साझा विश्वासलाई प्रतिबिम्बित गर्दछ।’
Shares

प्रतिक्रिया