भारतको बिहार सरकारका मन्त्री श्रवण कुमारलाई बुधबार बिहान नालन्द जिल्लाको हिल्सा प्रहरी थाना क्षेत्रको मलावन गाउँमा स्थानीयले ढुंगामुढा गरेका छन्। त्यस क्रममा ज्यान जोगाउन उनले झन्डै १ किलोमिटरसम्म दौडिनुपरेको भारतीय पत्रिका जागरणले जनाएको छ।
उक्त पत्रिकाका अनुसार स्थानीय विधायकसहित मन्त्री श्रवण सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई सान्त्वना दिन बुधबार बिहान त्यस गाउँमा पुगेका थिए। तीन दिनअघि भएको दुर्घटनामा त्यहाँका ९ जनाको मृत्यु भएको थियो।
जानकारीअनुसार मन्त्री र विधायक दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई भेटेर फर्किन खोज्दा गाउँलेहरूले उनीहरूलाई अझै केही समय गाउँमै बस्न अनुरोध गरे। तर मन्त्रीले अन्य कार्यक्रममा जानुपर्छ भने।
यसपछि गाउँलेहरू क्षतिपूर्तिको कुरा झिक्दै आक्रोशित भए र पत्रकार, विधायक र मन्त्रीसहितको टोलीलाई घेर्दै आक्रमण गर्न थाले।

आक्रमणमा मन्त्रीका अंगरक्षकसहित धेरै जना घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।
Shares

प्रतिक्रिया