अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमण सकेर शुक्रबार स्वदेश प्रस्थान गरेका छन्।
प्रतिनिधिमण्डलसहित बुधबार चीनको राजधानी बेइजिङ पुगेका ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग पटकपटक भेटवार्ता गरे।
अमेरिका प्रस्थान गर्नुअघि उनले भ्रमण धेरै सफल र अविस्मरणीय भएको बताए।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सीले ट्रम्पको भ्रमण ऐतिहासिक र कोसेढुंगा भनेका छन्।
भ्रमणको अन्तिम दिन ट्रम्प-सी भेटका प्रमुख बुँदा यस्ता छन्:
-संयुक्त पत्रकार सम्मेलनबाट उनीहरूबिच द्विपक्षीय वार्ताका क्रममा व्यापार, इरान र अन्य धेरै मुद्दामा छलफल भएको थाहा भयो।
-यद्यपि वार्ताका वास्तविक विषय विशेष गरी ताइवानजस्ता विवादास्पद मुद्दामा दुवै पक्षले थोरै मात्र जानकारी दिए।
-ट्रम्प अमेरिकाका व्यापारिक प्रतिनिधिहरूसँग बेइजिङ पुगे पनि कुनै प्रमुख व्यापार वा नीतिगत सम्झौता घोषणा गरिएन।
-भेटवार्ताका क्रममा प्रसारित फक्स न्युजको अन्तर्वार्तामा ट्रम्पले चीनले अमेरिकाबाट तेल किन्न र २०० बोइङ विमान खरिद गर्ने वाचा गरेको बताए। तर यस विषयमा चीनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
-सी चिनफिङले ट्रम्पलाई जोङनानहाई कम्प्लेक्सको भ्रमण गराए, जहाँ चीनका शीर्ष अधिकारीहरू बस्छन् र काम गर्छन्। यो कम्प्लेक्सलाई सामान्यतया चीनको अत्यधिक गोप्य स्थल मानिन्छ।
बीबीसीका चीन संवाददाता लौरा बिकरका अनुसार भ्रमणका क्रममा ट्रम्प असामान्य रूपमा शान्त थिए र चिनियाँ इतिहासबारे सीले गरेको ब्रिफिङ चुपचाप सुने।
Shares

प्रतिक्रिया