भारतीय राज्य केरलामा भारतीय कंग्रेसका नेता भीडी सतीसन मुख्यमन्त्री बनेका छन्।
उनले आइतबार बिहान तिरुवनन्तपुरमको सेन्ट्रल स्टेडियममा आयोजित समारोहमा मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
केरला भारतको त्यही राज्य हो, जहाँ हालै भएको विधानसभा चुनावमा भारतीय कम्युनिस्टको अन्तिम किल्ला पनि ढलेको थियो।
केरलाले लोकतान्त्रिक रूपले कम्युनिस्टहरूलाई निर्वाचित गर्ने विश्वकै पहिलो स्थानका रूपमा इतिहास बनाएको थियो। जहाँ १९५७ मा कम्युनिस्ट पार्टीले चुनाव जितेको थियो। कम्युनिस्ट पार्टीको सरकार भएको भारतको अन्तिम राज्य यही थियो।
तर यस वर्षको निर्वाचनमा कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्र्याटिक फ्रन्टले जितेर कम्युनिस्ट किल्ला ढालेको हो।
आइतबार मुख्यमन्त्री सतीसनसहित कुल २१ जना विधायकले मन्त्रीका रूपमा शपथ खाएका छन्।
सतीसनका अनुसार केरलामा ६० वर्षयता पहिलोपटक सिंगो मन्त्रिपरिषद्ले एकसाथ शपथ लिएको हो।
यसअघि केरलाका तेस्रो मुख्यमन्त्री आर शंकरले १९६२ मा आफ्नो मन्त्रिमण्डलसहित शपथ खाएका थिए। यद्यपि १९६४ मा अविश्वास प्रस्तावपछि उनको सरकार ढलेको थियो।
आजको शपथ समारोहमा कंग्रेस नेताहरू राहुल गान्धी र प्रियंका गान्धी पनि उपस्थित थिए। अनि कंग्रेस शासित राज्यका सबै मुख्यमन्त्रीहरू पनि सहभागी थिए।
Shares

प्रतिक्रिया