पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुराकानी गरेका छन्।
सरिफले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार पेजेस्कियासँग छलफलका क्रममा शान्ति कायम राख्न कूटनीति आवश्यक रहेमामा जोड दिइएको बताएका छन्।
प्रधानमन्त्री सरिफले शुक्रबार अबेर राति लेखेका छन्, ‘आज मैले मेरा दाइ इरानका राष्ट्रपति डा. मसुद पेजेस्कियानसँग कुरा गरेँ। हामीले विकसित परिस्थितिबारे छलफल गर्यौँ र हालैका महिनाहरूमा प्राप्त शान्ति जोगाउन संयम, संवाद र कूटनीति आवश्यक छ भन्ने कुरामा जोड दियौँ।’
उनले अगाडि लेखेका छन्, ‘मैले पाकिस्तान दिगो शान्तिका लागि इमान्दार र सत्यवादी मध्यस्थकर्ताको भूमिका खेल्न तयार छ भन्ने कुरा दोहोर्याएँ। हामीले मेरो हालैको इस्लामाबाद भ्रमणका क्रममा स्थापित द्विपक्षीय सहयोग एजेन्डालाई अगाडि बढाउने निर्णय पनि गर्यौँ।’
पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिच शान्ति स्थापना गर्न र युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न मध्यस्थता गरिरहेको छ।
इरानले स्ट्रेट अफ होर्मुजमा जहाजहरूमा आक्रमण गरेपछि अमेरिकाले हालै लगातार दुई रात इरानी भूमिमा सैन्य हमला गरेको थियो।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता जारी राख्न अनुरोध गरेको दाबी गरेका छन्। साथै यस आग्रहलाई अमेरिकाले स्वीकार गरेको पनि उनले बताएका छन्।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले हामीलाई वार्ता जारी राख्न अनुरोध गरेको छ। हामीले यो अनुरोध स्वीकार गरेका छौँ, तर अमेरिकाले युद्धविराम भने अब समाप्त भएको बताएको छ।’
यसैबिच समाचार एजेन्सी रोयटर्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै कतारका वार्ताकारहरू इरानमा उपस्थित रहेको र इरानका अधिकारीहरूसँग भेट गरिरहेको उल्लेख गरेको छ।
इरान र अमेरिकाबिच शान्ति सम्झौताका लागि पाकिस्तान मुख्य मध्यस्थकर्ता भए पनि कतार पनि यस विषयमा सक्रिय रूपमा संलग्न छ।
Shares

प्रतिक्रिया