भारतस्थित गोवाको बिर्च नाइटक्लबमा पाँच नेपालीसमेत २५ जनाको ज्यान जानेगरी आगलागी भएको पाँचौँ दिन बिहीबार क्लबका मालिक दाजुभाइ सौरभ लुथरा र गौरव लुथरालाई थाइल्यान्डमा पक्राउ गरिएको छ।
थाई प्रहरीले हतकडी लगाएका र राहदानी बोकेका दाजुभाइको तस्बिर सार्वजनिक गरेको छ।
स्रोतका अनुसार, भारतीय अधिकारीहरूको टोली थाइल्यान्ड गएको छ र लुथरा दाजुभाइलाई २४ घण्टाभित्र फिर्ता ल्याउनेछ। गोवा प्रहरीले भारत फिर्ता ल्याएपछि उनीहरूलाई हिरासतमा लिनेछ।
यही मंसिर २० गते अर्थात् डिसेम्बर ६ मध्यराति बिर्च नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो। तीमध्ये ५ नेपाली छन्।
घटनापछि क्लबका मालिक लुथरा दाजुभाइ भारतबाट भागेर थाइल्यान्ड पुगेका थिए। उनीहरूविरुद्ध अपराधपूर्ण हत्या र लापरबाहीको आरोप लगाइएको छ।
उक्त आगलागीमा परी दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो।
उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ।
Shares

प्रतिक्रिया