भारतको अरुणाचल प्रदेशमा पर्ने अन्जाव जिल्लाको हायुलियाङ क्षेत्रमा ट्रक सडकबाट हजार फिट तल खोचमा खस्दा २१ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना गत सोमबार (डिसेम्बर ८) राति नै भएको भए पनि जानकारी बिहीबार आएको हो।
अहिलेसम्म घटनास्थलबाट उद्धार टोलीले १८ जनाको शव निकालेको बताइएको छ।
वास्तवमा दुर्घटनामा घाइते भएर बाँचेका एकजना दुई दिन हिँडेर सेनाको शिविरमा पुग्न सफल भए।
त्यसपछि बिहीबार बिहान सेनाले दुर्घटनाबारे थाहा पाएको थियो। सेनाको टोलीलाई घटनास्थल पुग्न १० घण्टाभन्दा बढी समय लाग्यो।
दुर्घटनास्थल पहाडी र घना जंगल भएको क्षेत्रमा पर्छ।
अन्जाव जिल्लाका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘२२ मजदुर लिएर आसामबाट अरुणाचल प्रदेश जाँदै गरेको ट्रक छागलागामभन्दा १० किलोमिटर अगाडि पहाडबाट गहिरो खोचमा खसेछ।’
दुर्घटनामा बाँच्न सफल एकमात्र कामदार बुधेश्वरले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार गाडी रातको समयमा चिप्लिएर सिधै गहिरो खाल्डोमा खसेको थियो।
दुर्घटनामा मृत्यु भएका सबै कामदार आसामको तिनसुकिया जिल्लाका बासिन्दा थिए।
Shares

प्रतिक्रिया