अन्तर्वार्ता


जनसंख्याको नयाँ तथ्यांकले गाउँ रित्तिँदै, सहर भरिँदै गएको देखायो : उपमहानिर्देशक रेग्मी (अन्तर्वार्ता)

जनसंख्याको नयाँ तथ्यांकले गाउँ रित्तिँदै, सहर भरिँदै गएको देखायो : उपमहानिर्देशक रेग्मी (अन्तर्वार्ता)

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मी। तस्बिर: विक्रम राई/नेपालखबर


यज्ञराज जोशी
माघ १२, २०७८ बुधबार २१:१, काठमाडौँ

बितेको दश वर्षमा नेपालको जनसंख्या बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या २६ लाख ९७ हजारले बढेर २ करोड ९२ लाख पुगेको हो।

यसअघि २०६८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। गत कात्तिक २५ गते देखि मंसिर ९ गतेसम्म भएको जनगणनाको प्रारम्भिक नतिजाबाट के के देखियो? गणना गर्ने क्रममा कस्ता कस्ता रोचक कुरा देखिए? यीसहितका विषयमा केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीसँग नेपालखबरले गरेको कुराकानी : 

के के कुरालाई आधार मानेर जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्नुभयो?
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणना सार्वजनिक गरेका छौँ। यो ४० हजार गणक र १० हजार सुपरिवेक्षकले गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म देशभरिका ६८ लाख परिवारकहाँ गएर भरेको विवरण हो। यो विवरणको सारांश मात्रै हो। सारांश हामीले कसरी निकाल्यौँ भने एकजना गणकलाई हामीले एउटा गणना क्षेत्र भनेर तोकेर दिएका थियौँ। 

त्यसमा १५० देखि २०० परिवारसम्म थिए। त्यो गणना क्षेत्रमा गणकले कतिवटा फाराम भरे। त्यसमा कति घर, परिवार, जम्मा जनसंख्या, पुरुष, महिला र परिवारमा अनुपस्थित संख्या कति थिए भन्ने आधारमा हामीले प्रारम्भिक नतिजा सार्वजनिक गरेका हौँ। त्यसका आधारमा नेपालमा जनसंख्याको आकार २ करोड ९१ लाख ९२ हजार ४८० भन्ने अंक सार्वजनिक गरेका हौँ।

भिडिओ

कहिलेसम्म विस्तृतमा जनसंख्याको नतिजा आइसक्छ? प्रारम्भिकभन्दा कति फरक पर्न सक्छ?
हामीले भरेका फाराम ल्याएका छौँ। ती डाटा इन्ट्री गर्न बाँकी छ। इन्ट्री गरेर त्यसको विश्लेषण गरिसकेपछि मात्रै हामी त्यसको प्रतिवेदन सार्वजनिक गर्न सक्छौँ। त्यसका लागि कम्तीमा ६ महिना लाग्नसक्छ। प्रारम्भिक नतिजा र विस्तृत नतिजामा सामान्यतः धेरै फरक पर्दैन। एक आधा प्रतिशत मात्रै फरक पर्ला। अहिले हामीले जनसंख्याको आकार मात्रै निकालेका छौँ। विस्तृतमा हामी जनसंख्या, सामाजिक, आर्थिक, भौगोलिक, वातावरणीय विशेषताहरु पनि निकाल्छौँ। 

तीन करोड जनसंख्या पुग्ने अनुमान थियो। १० वर्षयता उल्लेख्य बढेको पाइएन किन?
अघिल्लो जनगणना हामीले २०६८ साल असारमा गरेका थियौं। यसपल्ट १० वर्षपछि गरिनुपर्ने जनगणना कोभिडका कारणले ५ महिना ढिलो भयो। यो अवधिमा झण्डै २७ लाख मान्छेहरु नेपालमा बढे। त्यो भनेको एक वर्षमा करिब २ लाख ७० हजार मान्छे बढे। हाम्रो पहिलेको अनुमान यो भन्दा अझै बढेर ३ करोड हाराहारीमा जनसंख्या हुन्छ कि भन्ने थियो। तर हामीले यसपाली गरेको गणनामा त्यो अनुमान केही गलत सावित भयो। अनुमान सबै मिल्नुपर्छ भन्ने छैन। पहिले अनुमान लिँदा जुन आधार लिएका थियौं। ती आधारहरूमा परिवर्तन भएकाले यो आकारको जनसंख्या देखिएको हो।  

आजसम्मकै गणनामध्ये एकदमै न्यून वृद्धिदर देखिनुका कारण के हुनसक्छन?
प्रतिशतका हिसाबले वार्षिक ०.९३ प्रतिशतले मात्रै नेपालमा जनसंख्या बढ्दैछ। अहिलेसम्मका गणनामध्ये यो न्यून वृद्धिदर हो। जन्म, मृत्यु र बसाइँसराइलाई जनसंख्याका अवयव मान्छौँ। हाम्रा विभिन्न अध्ययनले जन्मदरमा निरन्तर कमि आइरहेको छ र यो घट्दो छ। एकजना महिलाले आफ्नो जीवनकालमा पहिले ४–५ जनासम्म बच्चा जन्माउनुहुन्थ्यो भने अहिले एकदुई जनामात्रै जन्माउने सर्वेक्षणमा देखाएको छ। अन्तर्राष्ट्रिय बसाइँसराइ पनि केही बढेको हो कि भन्ने हामीले पाएका छौँ। मान्छे सचेत हुन थालेका छन्। यी विभिन्न कारणले वृद्धिदरमा कमी आएको हुनसक्छ।

परिवार संख्या एकदमै बढेको देखियो यसले के संकेत गर्छ?
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवार संख्या ६७,६१,०५९ छ। ती परिवारहरु जम्मा ५६,४३,९४५ वटा घरमा बसेका देखिएको छ, अर्थात १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ। हालको परिवार संख्या दश वर्षअघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको हो। यस अवधिमा जम्मा १३,३३,७५७ वटा परिवार थपिएको देखिन्छ। यसले मूलतः गर्ने संकेत हामी नेपाली संयुक्त परिवार छोडेर एकल परिवारतिर लाग्यौं। थोरै मानिसको परिवारमा बस्न थाल्यौँ। हाम्रो परिभाषामा एकजना पनि बसेको परिवार हुन्छ। शहरी क्षेत्रमा महँगी लगायत कारणले परिवारको संख्यामा उल्लेख्य कमी भएको हामीले पाएका छौं।

उत्तरबाट दक्षिणतर्फ बसाइँ सर्ने क्रमले पनि निरन्तरता पाएको देखियो होइन?  
भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७% हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६% पुगेको छ।

हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९% रहेको देखिन्छ। त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% अंश रहेकोमा हाल ४०.२५%मा झरेको छ। अहिले पनि अघिल्लो दशकझैँ उत्तरबाट दक्षिणतिर बसाइँ सर्ने क्रम कायमै रहेको देखाएको छ। हिमाली र पहाडी क्षेत्रको जनसंख्या घटेको छ भने तराई क्षेत्रको जनसंख्या बढेको छ।

दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १% विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ % र ४ % विन्दुले बढेको देखिन्छ। यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ।

अनि शहरी जनसंख्या पनि उल्लेख्य बढेको देखियो?
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामिण क्षेत्र मान्दा २०७८ सालको कुल जनसंख्यामा शहरी जनसंख्या ६६.०८% पुगेको छ भने ग्रामिण जनसंख्या ३३.९२% पुगेको छ। गाउँबाट शहरमा बसाई सर्ने प्रवृत्तिपनि बढेको हो कि भन्ने देखिन्छ। शहरी जनसंख्याको प्रतिशत उल्लेख्य बढेको छ। नेपाल सरकारले तोकेका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा झण्डै दुईतिहाइ व्यक्तिहरु बसोबास गर्छन् भन्ने देखाएको छ। बसाइँसराइका विभिन्न कारणहरु हुन सक्छन्। आर्थिक, सामाजिक, वातावरणीय, बाध्यता र स्वेच्छाले पनि मानिसहरु बसाइँ सरेका हुनसक्छन। त्यसमध्ये सेवा सुविधा पनि प्रमुख हो। 

केही सुविधा र बाटोघाटो नभएका नगरपालिका क्षेत्रमा बसोबास गर्नेलाई पनि किन शहरी क्षेत्रमा बसोबास गर्ने नागरिक भनेर गन्ती गर्नुपरेको?
अहिलेको परिभाषाले नगरपालिकाभित्र बसोबास गर्नेलाई शहरी जनसंख्या भनेर भनेका छौं। साँच्चिकै शहरी क्षेत्र सुविधाहरु उपलब्ध छन् कि छैनन भन्ने पनि छुट्टै अध्ययनहरु आवश्यक पर्लान्। ती विशेषताको अध्ययन गर्न यसपाली सामुदायिक प्रश्नावलीको पनि व्यवस्था गरेका थियौं। त्यहाँबाट आएका विवरणहरूबाट नागरिकले कस्तो सेवा सुबिधा उपभोग गर्न पाइरहेका छन् भन्ने विवरण प्राप्त होला। अहिले हामीले गाउँपालिकामा बसोबास गर्नेलाई ग्रामिण भेग र नगरपालिकामा बस्नेलाई शहरी क्षेत्र भनेर गणना गरेका छौं। 

लिम्पियाधुरा, लिपुलेकको जनसंख्या गणना कसरी गरियो?
कतै हामीले प्रत्यक्ष गरौं, कतै हामीले अप्रत्यक्ष गर्‍यौँ। नयाँ नक्सामा समेटिएका नेपाली भू–भागहरुमा अप्रत्यक्ष रुपमा गणना गर्‍यौं। अप्रत्यक्ष गणना भनेको त्यहाँका विषयमा जानकारी राख्ने मान्छेलाई सोध्ने हो। त्यसमा शतप्रतिशत शुद्धता छ भनेर हामी दाबी गर्न सक्दैनौं। शुद्धता केही कम भएपनि नयाँ नक्सामा समेटिएको भूभागलाई पनि २ करोड ९२ लाखमा समेटेका छौं। 

विदेशका नेपालीको संख्या त एकदमै न्यून देखियो, किन?
२०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्। दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोवास गर्ने) सङ्ख्या १९,२१,४९४ थियो। 

कुनै परिवार पूरै विदेशमा गएकाले गणना गर्न सक्दैनौं। परिवारको कुनै एकजना यहाँ छन्, बाँकी विदेशमा छन् भने उनीहरुको गणना गरिएको हो। छोटो अवधि (पर्यटकीय, धार्मिक प्रायोजन)मा विदेश गएको गणना गरिएको छैन। रोजगारी, शिक्षाका लागि विदेश गएकाहरूको गणना गरिएको हो। वर्ष दिनमा अधिकांश समय विदेशमै बस्ने मान्छेलाई गणना गरेका हौं। यो पनि अलि बढी हुनसक्छ कि भन्ने हाम्रो अनुमान थियो। कोभिडलगायत कारणले अहिले मान्छेहरु फर्केका पनि हुन सक्छन्। विस्तृत विवरण सार्वजनिक गर्ने बेलामा हामी कारण पनि सार्वजनिक गर्नेछौं।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .