ad ad

अन्तर्वार्ता


ओलीको निर्देशन नआई सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेले कसैलाई समर्थन गर्दैन : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता)

ओलीको निर्देशन नआई सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेले कसैलाई समर्थन गर्दैन : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता)

सागर न्यौपाने
बैशाख ५, २०८१ बुधबार १६:५, काठमाडौँ

नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले वैशाख ४ गते दिउँसो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी जुटाए। सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीलाई बिच्किन नदिन उनीहरूले सो निर्णय गरेका थिए।

सोहीअनुसार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेका एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका दीर्घ सोडारी मुख्यमन्त्री दाबी पेस गर्ने तयारीमा छन्। 

तर, गठबन्धनको प्रमुख दल एमालेले उनको नाममा सहमति जनाएको छैन। मंगलबार दिउँसो एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि सोडारीलाई स्वीकार गर्न नसक्ने अडान एमालेले लिएपछि सुदूरपश्चिमको सत्ता राजनीति अनिश्चयमै छ। एमालेले मंगलबार बेलुका १० बजेपछि व्यक्तिका विषयमा खोँचे थापेको अन्य दलले गुनासो गरेका छन्। 

यसै विषयमा सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँग नेपालखबरले गरेको कुराकानी :

एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री मान्न एमाले किन तयार नभएको हो?
मैले त अहिलेसम्म केही पनि बोलेको छैन। कहाँकहाँबाट केके आउँछ, त्यो अलग कुरा हो। मैले के मात्र भनेको छु भने पार्टी नेतृत्वको निर्देशन मान्नुपर्‍यो। किनभने दलीय व्यवस्थामा संघ र प्रदेशबीचको आपसी सम्बन्धको कुरा हो यो।

संघ र प्रदेश सरकारमा गठबन्धन बनेपछि अहिले गठबन्धनका तर्फबाट संयुक्त रूपमा म भएको ठाउँमा आउनुपर्‍यो नि त! मेरो नेतृत्व (अध्यक्ष केपी शर्मा ओली) ले मलाई पनि केही भन्नुपर्‍यो। उहाँचाहिँ अहिले इलाममा हुनुहुन्छ। उहाँको सहमति लिनैपर्ने हुन्छ। अब दलको बैठकले मलाई केही निर्देशन गर्‍यो भने, (समर्थन) दिनु है भनेर मलाई भन्नुपर्‍यो। त्यो मसँग आइपुगेको छैन।

केन्द्रमा बनेको सहमति तपाईंसम्म पुगेन भन्नुभएको?
केन्द्रमा बनेको सहमति जुन छ, त्यसअनुसारले मुख्यमन्त्री बनाउन कुनचाहिँ पात्र हो, त्यो मलाई आएको छैन। आउनेबित्तिकै म त्यही काम पूरा गर्छु। मूलतः सुदूरपश्चिमका सन्दर्भमा नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, नेकपा माओवादी र एमाले चारै दलका नेताले निर्णय गरेको करा कुरा त आउनुपर्‍यो नि मसम्म। त्यो भनेको हाम्रो अध्यक्ष केपी शर्मा ओलीमार्फत आउनुपर्‍यो। अरू त केही पनि छैन। 

तपाईंको अडान मुख्यमन्त्री को हो भनेर लेखेरै पठाउनुपर्‍यो?
कमसेकम मलाई आधिकारिक रूपमा निर्देशन गर्ने च्यानल पनि होला नि त। त्यसकारण उहाँ (केपी ओली) अहिले बाहिर हुनुहुन्छ। अनि भोलि (वैशाख ६) सम्मको समय नै छ।

तर, मान्छे किन पहिले नै आत्तिएर केके गर्छन्, उहाँहरूको सरोकार हो। 

मैले मात्र के भनेको छु भने, नेतृत्वबाट आधिकारिक रूपमा कुरा आउनेबित्तिकै म लेखेर दिन्छु भनेको छु। अनि आज सार्वजनिक बिदा नै हो। यो कति व्यग्रता, कति यो...? मैले बुझिराखेको छैन।

एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भनिसकेपछि पात्रमा  तपाईंहरूको चासो किन?
एमालेको संसदीय दलको नेता म हुँ। मैले कुनै ठाउँमा अभिव्यक्ति पनि दिएको छैन। तर, मान्छेहरू आफै केके कुरा लेख्छन्। पात्रका बारेमा प्रस्ट जानकारी माथिबाट आएको छैन। बिनापात्र त हुँदैन नि। पात्रकै नाम लेख्नुपर्छ। को हो त भन्नेबारे मलाई त मेरो च्यानलबाट आउनुपर्‍यो नि। त्यति मात्र हो। 

एकीकृत समाजवादीलाई दिने कुराको जानकारी नै तपाईंलाई नभएको कि, व्यक्तिको नाममा आपत्ति हो?
(समर्थनपत्र) लेख्दाखेरि त मैले नाम लेख्नुपर्‍यो नि। मुख्यमन्त्री एकीकृत समाजवादी लेखेर त हुँदैन नि त्यहाँ। हाम्रो दलको समर्थन उहाँलाई भनेर नामै लेख्नुपर्ला नि। 

दीर्घ सोडारीलाई एकीकृत समाजवादीले अघि सारिसकेको छ, उहाँ दलको नेता पनि हो, उहाँबाहेक नाम देऊ भन्न मिल्छ र?
अर्का दलको बारेमा मैले भन्ने कुरा होइन। व्यक्तिगत रूपमा कमेन्ट गर्न मलाई आवश्यक पनि छैन। मैले जानेको कुरा के हो भने संविधानको धारा १६८ को (२) मा त्यहाँ के छ भने, दुई वा दुईभन्दा बढी दलका नेताहरूले समर्थन गरेको प्रदेश सभाको सदस्य मुख्यमन्त्री हुन सक्ने लेखिएको छ।

त्योसँग पनि सरोकार नै छैन। सरोकार केमा भन्दा मलाई मेरो दलको तर्फबाट आधिकारिक रूपमा यो सहमति बन्यो, फलानोलाई समर्थन देऊ भनेर आउनुपर्‍यो।

अध्यक्ष केपी शर्मा ओलीले नै मौखिकरूपमा भन्दा हुन्छ कि लिखित नै पठाउनुपर्‍यो ? 
लिखित नै। दलीय व्यवस्थामा च्यानलबाट आउँछ। उहाँले मलाई दिनेबित्तिकै संसदीय दलको बैठक डाक्छु, अनि निर्णय गर्छु। दलले निर्णय गर्न नसक्ने कुरा होइन।

मूल कुरा अहिलेको सवाल जोडिएको भनेको त माथिको गठबन्धन र तलका सबै भागबण्डामै आएका छन् नि त। अरू दलले पनि आफ्ना दलबाट निर्णय गरेका त होलान्। बिनानिर्णय, बिनानिर्देशन गरेका होइनन्।

हामी देखिरहेका छौँ–कर्णाली माओवादीले छोड्नुपर्‍यो, लुम्बिनी लिएकै छ। अनि बागमती लिएकै छ। बागमतीमा पनि यो पात्र भनिएको होला। त्यसैगरी सबै दलका चारै नेता बसेर यो हो भनेरचाहिँ भन्नुपर्‍यो। 

पात्रका विषयमा तपाईंहरूलाई कुनै समस्या होइन त्यसो भए ? 
मेरो दलको नेतासमेत संलग्न भएर निर्णय गर्नुपर्‍यो। मेरो दलको निर्णयबिना मैले कसरी मान्ने? हिजो अकस्मात् (एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने) आयो। अनि अर्काे कुरा, एउटा गठबन्धनमा हामी छौँ माथि र तल, अनि तल मैले स्वतन्त्र निर्णय गराउन मिल्छ र? त्योमाथि नैतिक प्रश्न हुन्छ कि हुँदैन? त्यो बारेमा पनि गठबन्धन दलले विचार पुर्‍याउनुपर्छ।

केन्द्रबाट जसलाई तोकेर पठाए पनि सुदूरपश्चिम एमालेलाई समस्या छैन उसो भए ? 
पात्र तोकिएर आउनुपर्‍यो मलाई। माथिबाट आएको निर्णय कार्यान्वयन गर्छु। पार्टीहरूले गरेको सर्वदलीय सर्वपक्षीय गठबन्धनको निर्णय आउनुपर्‍यो। शीर्ष नेताहरूको निर्णय आउनुपर्‍यो नि मसँग। त्यो हुनेबित्तिकै मैले रोक्दिनँ, त्यसमा मेरो विवादै छैन। 

यदि तपाईंले भनेजसरी नाम आएन, वा केन्द्रले पठाएन भने के गर्नुहुन्छ? 
नआएपछि त हामी नियममा बाधिन्छौँ। हाम्रो पार्टीको नियम, कानुन छ। पार्टी सिस्टम छ, त्यसलाई नमानी मेरो पार्टी जान सक्तैन। एमाले जान सक्तैन। एमाले आफ्नो पार्टी च्यानलले गरेको निर्णय मात्र बोक्छ। मैले तल एउटा चिज गर्ने, माथि अर्काेले अर्कै गर्ने, यो हुँदैन। हामीहरूको यो सिस्टम छैन। नेता, नीति र आफूमाथि विश्वास राख्ने हो। 

आज एकतिर गर्‍या छ, भोलि अर्काेतिर गर्‍या छ। के विश्वास हुन्छ? त्यसको विश्वसनीयता गुम्छ। नेतृत्वले जे निर्णय गर्छ, नेतृत्वले जे चिज बनाउँछ सार्वजनिक रूपमा, मलाई आउने निर्णय नेतामार्फत हो। मेरो नेतृत्वले मलाई भन्नेबित्तिकै म त्यो कार्यान्वयन गराउँछु। म अप्ठेरो पार्दिनँ। भन्नेबित्तिकै गर्छु। एक सेकेन्ड लगाउँदिनँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .