ad ad

कर्णाली


मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

नवीन रिजाल
असोज ६, २०७९ बिहिबार ११:१७, दैलेख

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका बासिन्दाका लागि कल्पना मात्र थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पना गर्ने कुरै भएन।

पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठबीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ। जिल्लाभर एक सय २५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ। राजमार्गले जोडिएका स्थान वरपरको कृषि उपजले सहजै बजार पाएको छ। स्थानीयले आम्दानी गर्न सकेका छन्।

जिल्लाको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ। मध्यपहाडी राजमार्ग सञ्चालन हुनेबित्तिकै सुयाडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ। अग्लो भूभागमा भएका कारण हिउँ खेल्न मात्र नभएर अघिपछि घुमफिर गरेर आनन्द लिनका लागि पर्यटकलाई राजमार्गको यात्रा निकै सहज छ। सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ।

राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ। जिल्लाको पूर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ। नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ। सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ। सिमाना क्षेत्रका केही सडकको काम धमाधम भइरहेको र कालोपत्रको तयारी भएको आयोजना अनुगमनमा खटिएका प्राविधिक बताउँछन्।  

पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिकाका, दुल्लु नगरपालिकाको, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका केही भूभाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड बनेकाे छ। पश्चिमखण्डका धेरैजसाे स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ। 

मध्यपहाडी राजमार्ग दैलेख आयोजना प्रमुख युवराज पोखरेलले आगामी वर्ष दैलेख खण्डका सबै सडक कालोपत्र भइसक्ने बताए। पहाडी जिल्लालाई सडक सञ्जालसँग जोडेर उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यले निर्माण थालिएको मध्यपहाडी राजमार्गको सबैभन्दा विवादितमध्ये सदरमुकाम सडकखण्डको काम अहिले तीव्र पारिएको छ। योसँगै  दैलेख बजारको लोहोरेदेखि छाम घाटसम्म सडक निर्माणले तीव्रता पाएको छ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विवाद समाधान भएको बताउँछन्। विवाद समाधान भएसँगै सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन भर्ने, पर्खाल लगाउनेलगायत काम धमाधम सुरु भएका छन्। केही स्थानमा मुआब्जा वितरण सकिएसँगै कामले तीव्रता पाएको प्याकुरेलले जानकारी दिए। 

कर्मचारी अभाव हुँदाहुँदै पनि आयोजनाका तर्फबाट प्रभावकारी काम भएको छ।

दैलेखका विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० निर्माण कम्पनीले ठेक्कामार्फत काम थालेका छन्। पुल निर्माणको जिम्मा छुटै तीन कम्पनीको छ। करिब रु चार अर्ब बढी रकम आर्थिक वर्ष २०७९/८० मा खर्च हुने प्रशासन प्रमुख तीर्थ जिसीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .