कर्णाली नदीमा असार २३ गते अपराह्न ४ बजे फेला परेको शव गाडी दुर्घटनामा बेपत्ता कालीकोटकी सिर्जना खड्काको भएको पुष्टि भएको छ।
उनको शव सुर्खेतको चौकुने गाउँपालिका-४, डङ्डगेस्थित कर्णाली नदीको छालमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कालीकोट रास्कोट नगरपालिका-२ बस्ने १८ वर्षीय सिर्जनाको शव भएको उनका बुबा धनबहादुर खड्काले सनाखत गरेका हुन्।
असार १८ गते बिहान साढे ११ बजेको समयमा सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।
दुर्घटनापछि गाडी र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दा खटिएका छन्।
प्रहरीका अनुसार पाँच जना गाडीमा सवार थिए। तीमध्ये पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव भिरमा अड्किएको अवस्थामा प्रहरीले निकालेको थियो। उनको शव आफन्तले सनाखत गरेका छन्। शव पोस्टमार्टमपछि परिवारलाई बुझाएर अन्त्येष्टि गरिसकेका छन्।
यस्तै, उक्त गाडीका सवार अर्का यात्रु पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव सोमबार कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखाल सोल्टा नजिक भेटिएको थियो।
प्रहरीका अनुसार गाडी चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका दाजुभाइ तुलाराम सुवेदी र रामप्रसाद सुवेदी अझै बेपत्ता छन्। उनीहरू दाजुभाइ हुन्।

प्रतिक्रिया