दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा बिहीबार फोर्स गाडी दुर्घटनामा भेटिएको शवको पहिचान खुलेको छ।
शव कालीकोटको पचालझरना गाउँपालिका-९ निवासी ५४ वर्षीय जेखे तिरुवाको भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार सुरु गरेका थिए।
उद्धारका क्रममा गाडीमा सवार एक पुरुषलाई भिरमा अड्किएको अवस्थामा उद्धार गरिएको थियो।
अचेत अवस्थामा उद्धार गरिएको उनलाई नगर अस्पताल दुल्लु लगिएमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार गाडीमा कति यात्रु थिए भन्ने अझै एकिन भइसकेको छैन।
प्रारम्भिक अनुसन्धानमा गाडीमा ५ देखि ६ जना यात्रु रहेको पाइएको छ।
अन्य यात्रुको अवस्था तथा विवरण खुल्न बाँकी रहेको र खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तथा सशस्त्र प्रहरी बलको तालिम प्राप्त ६ सदस्यीय गोताखोर टोली पनि परिचालन गरिएको छ।
Shares

प्रतिक्रिया