समाज


स्नातक पढेको चार वर्षपछि जब सहकुलपति बनेर केयू पुगे सस्मित

स्नातक पढेको चार वर्षपछि जब सहकुलपति बनेर केयू पुगे सस्मित

केयूको दीक्षान्त समारोहमा चार वर्षअघि र आज सस्मित पोखरेल।


उन्‍नत सापकोटा
असार १९, २०८३ शुक्रबार १७:५०, काठमाडौँ

चार वर्षअघि स्नातक तह उत्तीर्ण भएपछि दीक्षान्त समारोहमा ‘ब्याक ब्यान्चर’ बनेर बसेका सस्मित पोखरेल आज भने उही काठमाडौँ विश्वविद्यालय (केयू) को सहकुलपतिका रुपमा विद्यार्थीलाई दीक्षित गर्न पुगे। 
   
नवयुवाले गत भदौ २३ र २४ मा विद्रोह नगरेको भए, सस्मित पोखरेललाई यो संयोग जुर्ने थिएन। उनी काठमाडौँ महानगरका तत्कालीन मेयर वालेन्द्र शाहको सचिवालयमै काम गरिरहेका हुन्थे। 

तर, जेनजी विद्रोहले स्थापित राजनीतिक दलहरूको जग यसरी हल्लाइदियो, उनीहरू तंग्रेर आउन सकेनन्। त्यसपछि गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ शक्तिका रुपमा उदायो। 

चार वर्षअघि केयूको दीक्षान्त समारोहमा विद्यार्थीका रुपमा सस्मित पोखरेल।

त्यही निर्वाचनमा काठमाडौँको मेयर पदबाट राजीनामा दिएर शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा-५ मा पराजित गर्दै सत्ताको नेतृत्व सम्हाले। शाह प्रधानमन्त्री बन्दा उनका सहयोगी समेत रहेका सस्मित काठमाडौँ-५ बाट ‘हेभिवेट’ नेताहरूलाई पन्छाउँदै शिक्षा तथा खेलकुदमन्त्री बन्न पुगे। 

उनै शिक्षामन्त्री पोखरेललाई शुक्रबार भने एउटा संयोग जुरेको छ। शुक्रबार काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा पोखरेल सहकुलपतिको हैसियतमा धुलिखेल पुगे। जबकि ठीक चार वर्षअघि उनी केयूकै विद्यार्थीको हैसियतमा दीक्षान्त समारोहमा परिवारसहित सहभागी भएका थिए। 

चार वर्षअघि दीक्षित भएपछि परिवारसँगै सस्मित पोखरेल।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल (केयूएसओएल) बाट स्नातक उत्तीर्ण गरेपछि पोखरेलले चार वर्षअघि धुलिखेल पुगेरै गाउनमा सजिएर टोपी उडाएका थिए। 

चार वर्षपछि शुक्रबार भने उनी दीक्षान्त समारोहमा विश्वविद्यालयको सहकुलपतिको हैसियतमा उनी दीक्षान्त समारोहमा पुगेका हुन्। प्रधानमन्त्री शाहले जस्तै कालो दौरासुरुवाल र टोपीसहितको ‘गेटअप’मा पुगेका उनले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे। उनले दीक्षान्त समारोहलाई सम्बोधन गरे। 

अन्य विश्वविद्यालयभन्दा काठमाडौँ विश्वविद्यालयमा आउँदा अलिकति बढी खुशी भएको मन्त्री पोखरेलले सुनाए। उनले चार वर्षअघिको त्यही दीक्षान्त समारोहको प्रसंग निकाले। 

शुक्रबार सहकुलपतिका रुपमा केयूको दीक्षान्त समारोहमा सस्मित पोखरेल।

‘आजभन्दा चार वर्ष अगाडि म सन् २०२२ मा यस्तै समारोहबाट म दीक्षित भएको थिएँ। आज चार वर्षपछि जिम्मेवारीको हिसाबमा शिक्षा तथा खेलकुदमन्त्री र सहकुलपतिको रूपमा आएको छु,’ पोखरेलले भने, ‘त्योभन्दा बढी भावनात्मक नाताले केयूको पूर्वाविद्यार्थीको हिसाबले यहाँ उभिएर बोल्न पाउँदा अझ बढी खुशी र गर्व लागेको छ।’

शुक्रबार केयूबाट स्नातक र विद्यावारिधिका गरी एक हजार ५२७ विद्यार्थी दीक्षित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad