कर्णाली


पुनः मुख्यमन्त्रीको दाउमा रहेका जीवन शाहीलाई हुम्लामा छक्कबहादुरको चुनौती

पुनः मुख्यमन्त्रीको दाउमा रहेका जीवन शाहीलाई हुम्लामा छक्कबहादुरको चुनौती

दिनेश बुढा
असोज २३, २०७९ आइतबार १३:२८, सुर्खेत

हुम्लाबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल सिफारिसमा परेका कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाटै प्रदेश सभाको निर्वाचन लड्ने भएका छन्। 

गठबन्धनको तर्फबाट जीवनबहादुर हुम्ला प्रदेश सभा (ख) को टिकट पाएका छन्। यसअघि प्रदेश सभामै आउन चाहेका शाहीको नाम भने पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सिफारिस गरेको थियो।

कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका गठबन्धनको तर्फबाट हुम्ला प्रदेश सभा (ख)को उम्मेदवार जीवनबहादुर हुम्लाबाट निर्वतमान स्वतन्त्र प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले चुनौती दिने भएका छन्। 

लामाले एमालेबाट निर्वाचन आयोगको कार्यालय हुम्लामा उम्मेदवारी मनोनयन दर्ता गराएसँगै प्रदेशसभा सदस्यमा शाही र लामाको भिडन्त हुने पक्का भएको छ। 

२०४८ सालमा तत्कालीन जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा चक्रबहादुर शाहीलाई ८ मतले पराजित गरेका लामाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गरेका थिए। 

संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लामा पार्टीभित्रकै असहयोगका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए। 

वाम गठबन्धनको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर कलम चिह्नबाट चुनाव लडेका लामाले २०७० मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाहीसँग व्यहोर्नुपरेको हारको बदला लिने दाउमा लामा छन्। 

२०१६ साल वैशाख १२ गते बुबा टाक्पा छेदेन लामा र आमा नाक्दार्मा लामाको सन्तानका रुपमा जन्मिएका लामा नेकपा माओवादीको हेटौडा माहधिवेशनबाट माओवादीमा समाहित भएका थिए।

२०३१ सालबाट वाम राजनीति सुरु गरेका छक्कबहादुर २०३८ मा अखिल नेपालको छैटो केन्द्रीय सदस्य भएका थिए। विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा संलग्न लामाले २०४२ सालमा नेकपा एकता केन्द्रको हुम्ला इन्चार्जको भूमिका निर्वाह गरेका थिए।

दश वर्षे जनयुद्धमा भुमिगत नभएका लामाकी छोरी जनयुद्धमा शहीद भएपछि सार्वजनिक रुपमा माअ‍ेवादीलाई अप्रत्यक्ष सहयोग गरेका लामाले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनक काल २०६१ मा स्थानीय विकास सहायक राज्य मन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्य मन्त्रीको समेत बनेका छन्।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा लामाले एमालेबाट उम्मेदवारी दर्ता गराई सकेका छन्। हुम्लामा लोकप्रिय नेताका रुपमा परिचित नेता लामा जनताको मागले आफू पुनः उम्मेदवार बनेको बताए। 

यसैबीच कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि निर्वाचन आयोगको कार्यालय हुम्लामा प्रदेशस (ख)मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शाहीले पत्रमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .