नेकपा एमालेले सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा मिसन ग्रासरुट सम्बन्धि अभिमुखीकरण गरेको छ।
एमालेले थालेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सम्बन्धि अभिमुखीकरण शनिबार एमाले चौकुने गाउँपालिका कमिटी, सुर्खेतले आयोजना गरेको हो।
उक्त अभिमुखीकरणमा बोल्दै सहभागीहरुले पार्टी भित्रै भएको चरम गुटबन्दीका कारणले काम गर्न समस्या भएको गुनासो गरे।
सहभागीहरूले भने, ‘पहिला–पहिला नेता गाउँमा आउदा स्वागत तथा सम्मानका लागि आधा बाटोसम्म दौडिएर जान्थ्यौं। तर, अहिलेका नेताहरुको व्यवहारले कार्यकर्ता रनभुल्लमा परेका छन्।’
अभिमुखीकरणमा सहभागी एक वडास्तरीय नेताले भने, ‘एमाले भित्र चरमगुटबन्दी भयो। यो गुटबन्दीले घरभित्रैका दाइ÷भाईको सम्बन्धमा समेत दरार ल्याएको छ। को नेताका कुरा मान्ने कसका नमान्ने कसका कुरा मान्ने त्यसैले हामीलाई कुनैपनि काम गर्नका लागि समस्या उत्पन्न भएका छन्।’
नेता–कार्यकर्तालाई मिसन ग्रासरूट सम्बन्धि नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले अभिमुखीकरण दिएका थिए।
यस्तै, शाहले मिसन ग्रासरूटका चौकुने गाउँपालिका लागि खटिएका प्रदेश प्रतिनिधिको विवरण सार्वजनिक गरेका थिए।
यस्तै, अध्यक्ष शाहले अभिमुखीकरण कार्यक्रमले नेता(कार्यकर्तालाई जिम्मेवार व्यक्ति बनाउने बताए। तर, उनले अभिमुखीकरणमा नेता तथा कार्यकर्ताको सहभागी न्यून हुनु दुःखद रहेको बताए।
‘पार्टीको अधिवेशनको समयमा नेतृत्व लिन र चुनावको समयमा टिकटका लागि लुछालुछ हुन्छ। अभिमुखीकरणमा किन उपस्थिति किन भएन्। यो उपस्थिति नितान्त कमजोर भयो।’ उनले भने।
यस्तै, अध्यक्ष शाहले एमाले पार्टी बनाउनका लागि धेरै दुःख गर्न आवश्यक रहेको सुझाव दिए।
एमालेले पार्टी भित्रै भएको चरम गुटबन्दी, एकले अर्काको कसरी खुट्टा तान्ने, एकका कुरा अक्रो व्यक्ति कहाँ पुर्याएर आरोप कसरी लगाउने भन्ने कुराको अन्त्य गर्नका लागि मिसन ग्रासरुट अभियान सुरु भएको हो।
साथै, अध्यक्ष शाहले सबैले आर्थिक रुपमा राजनीति गर्न सिक्नुपर्ने अवस्था आएको बताए।
एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष कुलमणी देवकोटाले स्थानीय तहको निर्वाचनमा भएको कुरालाई लिएर धेरै नेता–कार्यकर्ताहरू रुष्ट नहुनुपर्ने बताए।
‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि स्थानीय तहबाट सर्वसम्मत सिफारिस भएर जिल्लामा नाम आएका थिए। त्यसै अनुसार प्रदेशमा पठाएका थियौँ’, उनले भने, ‘गुटबन्दीका कारण टिकट वितरण लगायत स्थानीय तहको निर्वाचनमा हामीबाट कुनै समस्या भएको थिएन्।’
यस्तै, देवकोटाले अब सबै एकजुट गरेर एक आपसमा मनमुटाव नराखि सबै मिलेर सुधार्नुपर्ने अवस्था आएको बताए।
प्रतिक्रिया