कर्णाली


मुगु हिमपहिरो : बेपत्ताको खोजी गर्न गएको उद्धार टोली अझै पुगेन

मुगु हिमपहिरो : बेपत्ताको खोजी गर्न गएको उद्धार टोली अझै पुगेन

दिनेश बुढा
बैशाख २६, २०८० मंगलबार १४:२९, सुर्खेत

मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि अझै उद्धार टोली पुग्न सकेको छैन्। मुगुको मुगुम कर्मारोङ गाउँपालिका–२ को च्यार्खु लेकमा गएको हिमपहिरोमा परी जुम्लाका तीन जना बेपत्ता भएका छन्। 

उनीहरूको उद्धारका लागि सोमबारदेखि खटिएको २१ जना सुरक्षाकर्मी र २ जना स्थानीय गरी २३ जनाको टोली अझै पुग्न नसकेको हो।

हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका  छन्। उनीहरू अन्य १२ जनासहित यार्सा टिप्न भन्दै मुगुको च्यार्खु पाटन पुगेका थिए। 

जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थिए। 

घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ ल्याप्रे लामाले जानकारी दिए। उनका अनुसार उक्त घटनास्थल साविकको मुगु गाउँ विकास समितिमा पर्दछ। 

यस्तै, यार्सा टिप्न गएका मुगुका एक र जुम्लाका १४ गरी जम्मा १५ जना मध्ये १२ जना सकुशल फर्किएका छन्। ती १२ जना मध्ये २ जना बेपत्ताहरूको खोजिएका लागि सुरक्षाकर्मीसँगै गएका छन्। 

यस्तै, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदर्शन पन्थिले सोमबार बिहान सुरक्षाकर्मीलाई हेलिकोप्टरले सिरान चौरमा छोडेको बताए।

उनले भने, ‘सोमबार बिहान सिरानचौरबाट उद्धारको टोली खाना खाएर बिहान साढे ११ बजे हिँडेर साँझको बाँस छापाखोलामा बसेको थियो। आज (मंगलबार) बिहान करिब ६ बजे सुराक्षाकर्मीहरुको टोली घटनास्थलतर्फ लागेको छ। त्यसपछि उनीहरू कसैसँग सक्पर्क भएको छैन्, फोन लागेको छैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .