ad ad

कर्णाली


कर्णाली प्रदेशसभामा पूर्वराजालाई ‘बडामहाराजधिराज’ भनेपछि हंगामा (भिडिओ)


दिनेश बुढा
जेठ १३ , सुर्खेत

कर्णाली प्रदेशसभामा पूर्वराजा ज्ञानेन्द्र शाहको विषयले प्रवेश पाएपछि केहीबेर हंगामा भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सन्तोषी शाहीले बैठक सुरु भएको करिब एक घण्टामा समय लिएर पूर्वराजा शाहलाई सम्बोधन गरेकी थिइन्। 

उनले पूर्वराजाको विषयमा बोलेको विषयलाई लिएर प्रदेशसभा सदस्यहरूले आपत्ति समेत जनाएका छन्। 

सांसद शाहीले सम्बोधन गर्दै भनेकी थिइन्, ‘मेरो पार्टी राष्ट्रिय प्रजातन्त्रको तर्फबाट मिति २०८० जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी हुन लाग्नुभएका बडामहाराजधिराज सरकार ज्ञानेन्द्र वीरविक्रम शाहदेव, बडा महारानी कमलाराज्य लक्ष्मीदेवी शाह, युवराज्ञी हिमानी शाह लगायत मौसुफ भ्रमण टोलीमा सहभागी सबै पाहुनाहरुलाई म कर्णालीवासीको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु।’

उनले त्यसो भन्दैगर्दा पछाडिबाट टेबुल बजेको आवाज आयो। सभामुख नन्दा गुरुङले के होला माननीय ज्यू भन्दै प्रश्न् गरिन्।

‘कुन नियम अन्तर्गत हो माननीय सदस्यज्यू स्पष्ट पार्दिनुहोस्,’ सभामुख गुरुङले भनिन्। त्यतिबेला रोष्ट्रममा उभिएकी सांसद सन्तोषी शाही मुसुमुसु हाँस्दै थिइन्। 

नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले सांसदहरूले प्रदेशको सभामा नेपालको संविधानभित्र रहेका विभिन्न छलफल, बहस गतिविधि गरिँदै आएको बताए।

उनले भने, ‘नेपालको संविधानले श्री ५ बडामहाराजधिराज, वडा महारानी भनेर कहिल्यै पनि बुझ्दै, चिन्दैन्, जान्दैन्। संविधानले नचिनेका, नजानेका कुराहरु आज यो हाम्रो सम्मानीत प्रदेश सभामा बडामहाराजधिराज र वडा महारानी भनेर सम्बोधन हुने र बेला–बेलामा भईराख्ने जुन भइरहेको छ। यसमा म सभामुखमार्फत आपत्ति जनाउन चाहान्छु।’

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्ट।

साथै सांसद विष्टले यस्ता प्रकारका शव्दावलीहरु रेर्कडबाट हटाउन समेत माग गरे। 

रोष्ट्रममै उभिएकी राप्रपा सांसद शाहीले पुनः सुरु गरिन्।

‘सभामुख महोदय यो हाम्रो पार्टीको र मेरो आस्थाको विषयवस्तु भएको हुनाले प्रस्तुत गरेकी हुँ। र जनताबाट चुनिएर म आज यो संसदमा उभिरहँदा मैले मेरो आस्थालाई बोल्न नमिल्ने छ र?,’ उनले भनिन्, ‘म यहाँबाट प्रश्न गर्न चाहन्छु सभामुख महोदय। सबैले आफ्ना माउ पार्टीका सिद्धान्तहरुलाई  तपाईंहरुले आवाजका साथमा बुलन्द आवाज संसदमा दर्शाउन, तेर्साउन हुने, मैले मेरो पार्टीको आस्थालाई मूलधारको मेरो आस्थालाई बोल्न नपाउँने कुन तन्त्रमा लेखिएको छ? सभामुख महोदय म यस्को भत्र्सना गर्न चाहन्छु।’ 

सांसद शाही त्यतिमै रोकिइनन्।

उनले प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘मौसुफ’को स्वागत गर्न पाउँदा हर्षित् भएको पनि बताइन्। 

‘यस्तो गरिमायमा संसदमा मौसुफको प्रदेश राजधानी वीरेन्द्रनगरमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको छु। विदेशी हस्तक्षेत, भ्रष्टाचार बेथितिले आक्रान्त कर्णालीवासी वडा महाराजा धिराज सरकाको भ्रमणले हर्षित भएको...।’ सांसद शाहीले भनिन्।

सांसद शाही बोल्दै गर्दा फेरि संसदमा होहल्लला र टेबुल बज्न सुरु हुन्छ। 

त्यत्तिकैमा सभामुख नन्दा गुरुङले सांसद शाहीलाई भनिन्, ‘रोक्नुहोस् माननीय ज्यू रोक्नुहोस्। रोक्नुहोस्। माननीय सदस्य ज्यू।’

सांसद शाहीले उक्त भाषण गर्दैगर्दा सत्तापक्षका आधा भन्दाबढी सांसदहरू उभिएर विरोध जनाएका थिए।

सभामुख गुरुङलाई नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रश्न गरे, ‘निमावलीको विषयमा जानकारी गराउँदा गराउँदै पनि यो संदनलाई कता तिर डोर्‍याउँदै छ?’

उनले सांसदहरूले बोल्ने कुरा निर्धारण नहुँदा प्रदेससभाको मर्यादा कता जाने? भन्दै प्रश्न समेत गरे।

‘बोल्ने कुरा के हुन् सभाले निर्धारण नगर्ने हो भने सभाको मर्यादा कहाँ जान्छ? सभामा बोल्दा यदी मुख्यमन्त्रीले बोल्न चाहनुभयो भने उहाँले बोल्न पाउनुपर्छ,’ सांसद शाहीले भने, ‘उहाँले बोल्न चाहनु भएन भने, प्रमुख प्रतिपक्ष दलका नेताले बोल्नुपर्छ। यदी उहाँले पनि बोल्नुभएन भने सबै भन्दा ठूलो दलको नेतालाई बोल्न दिनुपर्छ।’ 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही।

सांसद सन्तोषी शाहीले बोलेको कुरालाई लिँदै सांसद शाहीले भने, ‘हिजो पनि धेरै कुरा भएका छन्। एकले अर्कोलाई गाली गर्ने त्यो गर्न पाइँदैन। आस्था राख्न पाहिन्छ। आस्था मान्न पाइन्छ। तर, यो रोष्ट्रमबिना राजतन्त्रको हो। जून दिन राजतन्त्र फर्केर आउँला उहाँहरुले बोल्नुहोला। भन्नु होला तर, त्यो अहिले गर्ने बित्तिकै कहाँको लोकतन्त्र हो भनेर त्यहाँबाट हुँकार गर्न यो स्वभनीय हुँदैन्।’

संसद पिपल चौतारी नभएको भन्दै सांसद सन्तोषी शाहीले बोलेका कुरा सबै रेकर्डबाट मेटाउनुपर्ने बताउँदै यस्ता खालका कार्यक्रम पुनः दोहोरिमा बाहिर जान बाध्य हुने र संसदनै चल्न गाह्रो हुने चेतावनी पनि उनले दिए।

जीवनबहादुर शाही बोलिसकेपछि पुनः सांसद सन्तोषीले भाषण सुरु गरिन्।

‘मैले यो आस्थालाई दर्शाउन मात्रै खोजेको हो। राजतन्त्रलाई  पुनःस्थापना गर्न खोजेको थिएन्। मैले यसमा भोलीको कार्यक्रमको लागि जनतालाई आह्वान मात्रै गर्न खोजेकी थिएँ,’ उनले भनिन्, ‘स्वागत गर्न खोजेकि मात्रै हो। अरु मैले केही पनि राख्न खोजेकी थिएनँ। हजुरको अगाडी मैले यसरी दर्शाउन खोजेको पनि हैन्।’ 

सांसद सन्तोषी शाहीले ‘सभामुख महोदय’ भन्दै गर्दा फेरि नेकपा एमालेका सांसद विनोदकुमार शाहले उक्त विषयमा सांसदहरूले नियमापत्ति गरिसकेपछि त्यसको प्रोसेसमा जानुपर्ने बताए। 

उनले भने, ‘सांसदले बोल्न रोक्नुपर्छ। तपाईंहरूले आफ्नो निर्णय दिएर माननीय सदस्यले माग गरेको कुरालाई पूरा गर्नुहोस्।’

नेकपा एमालेका प्रदेशसभा सदस्य विनोदकुमार शाह।

त्यसपछि सभामुख गुरुङले बोल्दै गरेकी सांसद सन्तोषी शाहीले रोकेर प्रदेश सभा सदस्यहरुले उठाएको नियमापत्तिमा सभाको ध्यानाकर्षण रहेको बताए।

‘छलफलमा सहभागी सबै माननीय सदस्यहरुलाई नेपालको संविधान र प्रदेश सभाको निमावलीको मर्यादा बमोजिम धारण राख्न आग्रह गर्दछु। सभालाई असान्दर्भिक लागेका कुरा निमावली बमोजिम हुने कुरा छर्लङ्ग गर्दछु। रुलिङ गर्दछु,’ सभामुखको रुलिङ थियो।

सभामुख गुरुङले उक्त कुरा राखिसकेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले नियमापत्ति पहिलो कार्यालयकामा नभएको बताए। 

‘प्रदेश सभामा यो विषयले हिजो र आज प्रवेश पाएको छ। सचिवालय अलमलिएको कारणले गर्दा सुझाव दिएर सहयोग गर्‍यौं भन्ने कुरा हो,’ उनले भने, ‘नियमावलीको हवला दिनै पर्दैन सभामुख महोदय, निमावपत्ति गर्दा जे माग गरेको छ। त्यहीँ कुरा कोट गरेर रेकर्डबाट हटाउने कुरा सभामुखलाई उपयुक्त लाग्छ भने त्यो कुरा भन्नुपर्छ।’

जेठ १२, २०८० शुक्रबार २०:११

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .