ad ad

कर्णाली


कर्णालीको आधाबढी जनसंख्या अझै बिजुलीको पहुँचबाहिर

जनसंख्या १६ लाख ८८ हजार, साक्षर ७६ प्रतिशत
कर्णालीको आधाबढी जनसंख्या अझै बिजुलीको पहुँचबाहिर

दिनेश बुढा
जेठ १८, २०८० बिहिबार १२:५८, सुर्खेत

१२ औँ राष्ट्रिय जनगणना २०७८ को कर्णाली प्रदेशस्तरीय तथ्यांकले प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत भएको देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको अन्तिम नतिजा तथ्यांकमा प्रदेशको साक्षरता दर ७६.१ रहेको छ।

यो साक्षरता दर कुल जनसंख्याको प्रदेशका पाँच वर्ष वा सो भन्दा बढी उमेर समूहको हो। यसअघि राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको साक्षरता दर (५ वर्ष वा सोभन्दा माथिको) ६५.९ प्रतिशत रहेको थियो।

१० वर्षको अन्तरमा करिब १० प्रतिशतले बढेको हो। जसमा पुरुषको साक्षरता ८३.३ प्रतिशत र महिलाको  साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। प्रदेशमा कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात् ३०.९ प्रतिशत व्यक्तिहरुको प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तिर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्र्तिण गरेका व्यक्तिहरु २१.५ प्रतिशत रहेका छन्।

यस्तै, एसएलसी वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ८.० प्रतिशत रहेका छन् भने एसएलसी भन्दा माथिल्लो तह उत्तिर्ण गर्नेहरु १५.८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

कर्णालीको जनसंख्या १६ लाख ८८ हजार, वृद्धिदर ०.७० प्रतिशत
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ। जसमा पुरुष आठ लाख २३ हजार सात सय ६१ (४८ दशमलव ७९ प्रतिशत) र महिला आठ लाख ६४ हजार ६ सय ५१ (५१ दशमलव २१ प्रतिशत) रहेको छ।

जनगणनामा अनुसार नेपालको कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय आठ देखिएको छ, जुन कुल जनसंख्याको शून्य दशमलव ०१ प्रतिशत हुन्छ। कुल अन्य लिङ्गी मध्ये कर्णाली प्रदेशमा २ दशमलव ८ प्रतिशत रहेको छ।

यस्तै, कर्णालीमा वार्षिक औसत जनसंख्या बृद्धिदर शून्य दशमलव ७० प्रतिशत रहेको छ। १० वर्षको अन्तरालमा कर्णालीमा एक लाख १७ हजार नौ सय ९४ जना अर्थात् सात दशमलव ५१ प्रतिशत जनसंख्या वृद्धि भएको छ।

सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुम्ला रहेको छ। हुम्लामा ५५ हजार तीन सय ९४ रहेको छ। हुम्लामा जनसंख्या वृद्धिदर ० दशमलव ८२ प्रतिशत छ।

यस्तै, सबैभन्दा बढी जनसंख्या सुर्खेतमा छ। सुर्खेतमा वार्षिक १ दशमलव ६२ प्रतिशत जनसंख्या वृद्धि भइरहेको छ। मुगु १ दशमलव ४९, डोल्पा १ दशमलव ४७, हुम्ला ० दशमलव ८२, जुम्ला ० दशमलव ८०, रुकुमपश्चिम ० दशमलव ६८, कालीकोट ० दशमलव ५७ प्रतिशतले जनसंख्या वृद्धि भइरहेको छ।

जसअनुसार सुर्खेतमा ४ लाख १५ हजार एक सय २६ जना, मुगुमा ६४ हजार ५ सय ४९ जना, डोल्पामा ४२ हजार ७ सय ७४ जना, जाजरकोटमा एक लाख ८९ हजार तीन सय ६० जना, हुम्लामा ५५ हजार तीन सय ९४ जना, जुम्लामा एक लाख १८ हजार तीन सय ४९ जना, रुकुम पश्चिममा एक लाख ६६ हजार सात सय ४० जना र कालीकोटमा एक लाख ४५ हजार दुई सय ९२ जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ।

कर्णालीमा जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) ६० जना रहेको छ। जुन २०६८ मा ५६ थियो। सबैभन्दा धेरै जनघनत्व रहेको जिल्ला सुर्खेतमा एक सय ६९ जना प्रति वर्ग किलोमिटर हुँदा सबैभन्दा कम ५ जना प्रति वर्ग किलोमिटर डोल्पा जिल्लामा रहेको छ।

यस्तै, कर्णालीमा कुल जनसंख्याको ५८ दशमलव ९ प्रतिशत जनसंख्या १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका रहेका छन्। हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरको जनसंख्या क्रमशः ३३ दशमलव १ र ८ दशमलव शून्य प्रतिशत रहेको छ।

जनगणना २०६८ को तथ्यांक अनुसार कर्णालीमा परिवार संख्या दुई लाख ९८ हजार तीन सय ५९ रहेकोमा हाल उक्त संख्या २२ दशमलव ८ प्रतिशतले बढेर तीन लाख ६६ हजार दुई सय ५५ पुगेको छ। जसमध्ये व्यक्तिगत परिवार तीन लाख ६६ हजार ३७ र संस्थागत परिवार दुई सय १८ रहेका छन्। कर्णालीका नगरपालिकाको जनसंख्या ५२ दशमलव १ र गाउँपालिकाको ४७ दशमलव ९ प्रतिशत रहेको छ।

२० प्रतिशत नागरिक पिउँछन् अशुद्ध खानेपानी
कर्णाली प्रदेशमा अझै पनि ४ हजार २ सय ७६ अर्थात् १ दशमलव २ प्रतिशत परिवारले खानेपानीका लागि खोलानालाकै भर पर्नुपर्ने अवस्था छ। जनगणना २०७८ अनुसार कर्णालीमा कुल परिवार संख्याको ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन्।

घरबाहिर रहेका खानेपानी आयोजना लगायतबाट कर्णालीका ४४ प्रतिशत र पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत रहेको जनगणनाको तथ्यांकले देखाएको छ।

५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर
कर्णालीमा कुल परिवार संख्याको ५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर रहेको जनगणनाले देखाएको छ। तथ्यांकअनुसार एक हजार सात सय ७५ परिवार अझै पनि उज्यालोका लागि मट्टीतेलको भर पर्नुपर्ने अवस्था छ।

यस्तै, १ सय ४५ परिवारले बायोग्यास र ७ हजार १ सय ३५ परिवारले बिजुली तथा सौर्य ऊर्जाबाहेकका अन्य स्रोत अपनाएको जनगणनाको तथ्यांकमा उल्लेख छ। कर्णालीमा कुल ३ लाख ६६ हजार परिवारमध्ये १ लाख ८१ हजार ६ सय ७६ परिवारमा मात्र बिजुली पुगेको छ। यो संख्या कर्णालीको कुल परिवार संख्याको ४९ दशमलव ६ प्रतिशत हो।

यसैगरी, १ लाख ७५ हजार ३ सय ६ परिवारले बत्ती बाल्नका लागि सोलार तथा सौर्य ऊर्जाको प्रयोग गरेका छन्। यो संख्या प्रदेशको कुल परिवार संख्याको ४७ दशमलव ९ प्रतिशत हो। यस्तै, खाना पकाउने इन्धनका रूपमा ८२ प्रतिशत परिवारले दाउराको उपभोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ।

७३.७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न
यस्तै, कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेका छन्। कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा माछापालन क्षेत्रमा संलग्न रहेका छन्। १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी यो तथ्यांक निकालिएको हो।

सोही अनुसार कर्णालीमा आर्थिक काममा संलग्न नौ लाख २६ हजार तीन सय ४० मध्ये सबैभन्दा बढी मानिसले कृषि, वन तथा माछापालन क्षेत्रमा काम गर्ने गरेका छन्। यसपछि थोक एवम् खुद्रा २ दशमलव ६, निर्माणमा ५ दशमलव २, शिक्षामा २ दशमलव ६ र सार्वजनिक प्रसाशन तथा सुरक्षाको क्षेत्रमा २ दशमलव ३ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्यांकमा उल्लेख छ।

जनगणना अनुसार कर्णालीमा १० वर्ष वा बढी उमेरका १३ लाख ३७ हजार आठ सय ९३ मध्ये नौ लाख २६ हजार तीन सय ४० जनाले जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन्। जसमध्ये ४२ दशमलव ५ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २६ दशमलव ७ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३० दशमलव ८ प्रतिशतले कुनै पनि आर्थिक काम नगरेको तथ्यांकमा उल्लेख छ।

यस्तै, कुल जनसंख्याको नौ लाख ५८ हजार ६ सय ४३ अर्थात ७१ दशमलव ७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहँदा तीन लाख ७३ हजार १७ जना अर्थात २७ दशमलव ९ प्रतिशत जनसंख्या निष्कृय रहेको छ। जबकी आर्थिक रुपले सक्रिय वा निष्कृय अवस्था नखुलेको व्यक्तिहरुको संख्या ६ हजार दुई सय ३३ रहेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ।

यस्तै, कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका ६ लाख ६८ हजार सात सय १५ जना अक्सर आर्थिक रुपले सक्रिय व्यक्तिहरु मध्ये ६ लाख १८ हजार चार सय ८७ जना अर्थात ९२ दशमलव ५ प्रतिशत अक्सर रोजगार र ५० हजार दुई सय २८ अर्थात ७ दशमलव ५ प्रतिशत जनसंख्या बेरोजगार रहेका छन्।

जनगणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा धेरै घरायसी क्षेत्रमा काम गर्ने ७६ दशमलव ९ प्रतिशत, गैर वित्तीय संस्थामा काम गर्ने १७ दशमलव ६ प्रतिशत, सरकारी क्षेत्रमा काम गर्ने ४ दशमलव ७ प्रतिशत, वित्तीय संस्थामा काम गर्ने शून्य दशमलव ५ प्रतिशत जनसंख्या रहेको उल्लेख छ।

यस्तै, नाफा नकमाउने संस्थामा काम गर्ने शून्य दशमलव ३, उल्लेख नभएको क्षेत्रमा काम गर्ने जनसंख्या शून्य दशमलव १ प्रतिशत रहेको जनगणनाको तथ्यांकमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .