ad ad

कर्णाली


त्रिपालबाटै सञ्चालनमा आए भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरू

त्रिपालबाटै सञ्चालनमा आए भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरू

दिनेश बुढा
मंसिर ४, २०८० सोमबार २०:४१, सुर्खेत

करिब एक महिनादेखि बन्द रहेका सामुदायिक विद्यालयहरू सोमबारदेखि सञ्चालनमा आएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका सामुदायिक विद्यालयहरु त्रिपाल तथा खुल्ला चौरबाटै भए पनि सोमबार (कार्तिक–४) देखि सञ्चालनमा आएका हुन्।

दसैँ, तिहार र छठ पर्वका लागि प्रायः धेरै जसो जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरु बन्द रहेका थिए। त्यही बीचमा कात्तिक १७ गते राति ११ः४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्दविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका अधिकांश विद्यालयहरूमा क्षति पुगेको छ।

विद्यालय भवनमा पूर्णदेखि आंशिक क्षति पुर्याएपछि विद्यार्थीहरुको पठनपाठमा भने समस्या देखिएको छ। क्षति पुगेका विद्यालयमा त्रिपालको टहरा बनाएर तथा खुला चौरमा राखेर पढाइ सुरु भएको हो।

शनिबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले भूकम्पले आंशिक क्षति भएका विद्यालयमा सम्बन्धित स्थानीय पालिका र विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको थियो।  

भूकम्पबाट बढी क्षति पुर्याएको जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकाले जोखिममा रहेका विद्यालयहरूमा सुरक्षित स्थान छनौट गरी कक्षा सञ्चालन गरेका छन्।
जाजरकोटको सात वटै स्थानीय तह तथा रुकुमपश्चिमका ६ वटा स्थानीय तहका विद्यालयहरु सञ्चालनमा आएका छन्।

यता, रुकुमपश्चिमको आठविसकोट नगरपालिकाले अस्थायी टहराबाट पठनपाठन सुचारु गरेको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ईन्द्रबहादुर विष्टले विभिन्न दातृ निकायको सहयोगमा निर्माण गरिएका अस्थायी टहराबाट नगर क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरुमा पठपाठन सञ्चालन गरिएको जानकारी दिए।

उनले भने, ‘पालिका तथा सामुदायिक विद्यालयहरुका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सहयोगमा विद्यालय सञ्चालन गरिएको छ। आठविसकोटमा ६४ वटा विद्यालय रहेकोमा ५२ वटा विद्यालयमा पूर्णदेखि आंशिक क्षति पुग्दा २ सय ५२ कक्षा कोठा प्रभावित भएका छन्।’

भूकम्पका कारण रुकुमपश्चिम जिल्लाभर रहेका ३ सय १३ वटा विद्यालयहरु मध्ये ६१ वटा विद्यालयका ६३ वटा भवनहरू पूर्ण रुपमा क्षति भएका छन् भने १८ वटा भवन आंशिक क्षति भएका छन्। १३ वटा शौचालय पूर्णरुपमा क्षति र कतिपय विद्यालयका पर्खाल तथा फिल्ड भासिएको विवरण छ।

यसबाट रुकुमपश्चिममा मात्रै ५७ हजार ८ सय ३४ मध्ये १७ हजार ३ सय ५१ जना गरी झण्डै ४० हजार विद्यार्थी प्रभावित भएको जनाइएको छ। यो जिल्लामा भूकम्पबाट ३५ विद्यार्थीको मृत्यु र ३६ विद्यार्थी घाइते भएका थिए।

यस्तै, जाजरकोटका सामुदायिक विद्यालयहरू पनि आजबाट सञ्चालनमा आएका छन्। विद्यालयहरुले पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालनमा ल्याएका हुन्। जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिकाका जोखिम रहेका विद्यालयमा पालिकासँगको सहयोगमा विद्यालयहरू सञ्चालनमा आएका छन्।  

जाजरकोटका भूकम्पबाट अति जोखिमका रहेका सबै जसो विद्यालयहरूमा एक साताभित्र टेन्ट र त्रिपाल हालेर विद्यालय सञ्चालन गर्ने योजना स्थानीय तहले बनाएका छन्।

४ सय २३ विद्यालयहरु रहेका जाजरकोटमा २ सय ८ विद्यालयमा भूकम्पका कारण पूर्ण क्षति पुग्दा ४ सय १८ विद्यालय भवनमा आंशिक क्षति पुगेको छ। जाजरकोटमा ७५ हजार ८ सय ५३ विद्यार्थीमध्ये २२ हजार ७ सय ५९ प्रभावित भएका छन्।

भूकम्पका कारण विभिन्न जिल्लामा गरी ६७ जना विद्यार्थीको मृत्यु र ७१ जना घाइते भएका थिए। जाजरकोटमा मात्रै ३२ विद्यार्थीको मृत्यु भएको थियो भने ३५ जना विद्यार्थी घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .