कर्णाली


अदालत पुग्यो भीमा मृत्यु प्रकरण, पीडित र प्रदेश अस्पताललाई बोलाइयो

अदालत पुग्यो भीमा मृत्यु प्रकरण, पीडित र प्रदेश अस्पताललाई बोलाइयो

फाइल तस्बिर : सुर्खेत अदालत र मृतक भीमा गुरुङ


दिनेश बुढा
बैशाख १९, २०८१ बुधबार १५:४१, सुर्खेत

उपचारका क्रममा कर्णालीको प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङका आफन्त न्याय माग्दै अदालत पुगेका छन्।

पाठेघरको उपचार गराउन गत चैत २८ गते सुर्खेतस्थित प्रदेश अस्पताल पुगेकी भीमालाई चिकित्सकले भोलिपल्ट अर्थात् चैत २९ गते मृत घोषणा गरेका थिए। 

त्यसपछि भीमाका परिवार तथा आफन्त डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आन्दाेलनमा उत्रिएका थिए।

घटनाबारे निष्पक्ष छानबिन, दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले चैत २९ देखि एक साताभन्दा बढी विरोध प्रदर्शन गरेका थिए।

तर यी माग अस्पताल, जिल्ला प्रशासन तथा प्रदेश सरकार कसैले सुनुवाइ नगरेपछि उनीहरू भीमाको शव अस्पतालमै छाडेर घर फर्किएका थिए। 

भीमाको शव २१ दिनदेखि अस्पतालको शवगृहमा अलपत्र छ।

कुनै सीप नचलेपछि न्याय माग्दै भीमाको परिवार अदालत गुहार्न बाध्य भएको हो। 

मृतकका ससुरा नाता पर्ने धन मगरले गत आइतबार जिल्ला अदालत सुर्खेतमा दर्ता गराएको निवेदनमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, भीमाको उपचारमा संलग्न डा. ललितजंग शाहीलगायतलाई विपक्षी बनाउँदै मृतककी सानी छोरीको पालनपोषण तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गरिएको छ। 

साथै प्रमाण नष्ट गर्न सक्ने हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउन तथा उपचारमा संलग्न चिकित्सकबारे जानकारी दिन प्रदेश अस्पताललाई आदेश दिन, जिल्ला प्रशासन कार्यालय तथा मानव अधिकार आयोगको प्रत्यक्ष निगरानीमा विशेषज्ञबाट शवको पोस्टमार्टम गर्ने व्यवस्था मिलाइदिन अदालतसँग अनुरोध गरिएको छ। 

साथै घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेस गर्न कर्णाली प्रदेश सरकारका नाममा आदेश जारी गरिदिन पनि निवेदकले अदालतसँग माग गरेका छन्।

अदालतले सो निवेदनमा मंगलबार सुनुवाइ गर्दै छलफलका लागि दुवै पक्षलाई यही वैशाख २१ गते आउन आदेश दिएको छ।

साथै अदालतले मृतकका परिवार, आफन्त तथा सहयोगीसमेतको सुरक्षा व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय र सुर्खेत प्रहरीलाई निर्देशन पनि दिएको छ।

हेर्नुहोस् अदालतको आदेश-

पीडितका तर्फबाट कानुन व्यवसायी अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .