कर्णाली


सुरेन्द्र मृत्यु प्रकरणमा प्रहरीको निष्कर्ष: विदेश रहँदा फेसबुकबाट प्रेम, स्वदेश फर्किंदा प्रेमिकाबाटै हत्या

सुरेन्द्र मृत्यु प्रकरणमा प्रहरीको निष्कर्ष: विदेश रहँदा फेसबुकबाट प्रेम, स्वदेश फर्किंदा प्रेमिकाबाटै हत्या

सुरेन्द्रबहादुर शाहीको फाइल तस्बिर


दिनेश बुढा
भदौ १०, २०८२ मंगलबार १४:४६, दैलेख

एक महिनाको अनुन्धानपछि दैलेख प्रहरी वैदेशिक रोजगारीबाट फर्किएका सुरेन्द्रबहादुर शाहीको योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्षमा पुगेको छ। 

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाबाट ३३ महिनापछि फर्केका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-६, घर भएका २८ वर्षीय शाही गत साउन ११ गते बिहान जिल्लाकै दुल्लु नगरपालिका-११, कयलकुनास्थित छामघाट खोला किनारमा मृत भेटिएका थिए।

उनीसँग प्रेम गर्ने महिलाले उनको हत्या गरेको तथ्य अनुसन्धानका क्रममा फेला परेको दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गणेश बरालले बताए। 

उनको हत्या आरोपमा प्रहरीले जिल्लाकै महाबु गाउँपालिका-५, काशीकाँध बस्ने २७ वर्षीय गंगा वनलाई पक्राउ गरेको छ। 

हत्याका लागि उनलाई सहयोग गरको आरोपमा प्रहरीले उनका बुबा नैने वन र आमा भक्कु वनविरुद्ध पनि आइतबार अदालतमा मुद्दा दर्ता गराएको छ।

डीएसपी बरालले भने, ‘सुरेन्द्रको शव भेटिएको मितिदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा गंगासहित बुवाआमा पनि अपराधमा संलग्न भएको देखियो। अनुसन्धान सकेर तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिसकेका छौँ।’

यस्तो छ घटना
वैदेशिक रोजगारीका लागि सुरेन्द्र ३३ महिनाअघि मलेसिया गएका थिए। उनी विदेश गएको एक वर्षपछि श्रीमतीले गाउँकै अर्को पुरुषसँग  विवाह गरिन्। घरमा सुरेन्द्रका दुई छोरी, एक छोरा र बुवाआमा थिए। पत्नी अर्कैसँग गएपछि तनावमा परेका सुरेन्द्रले फेसबुकमा गंगा वनलाई साथी बनाए। 

प्रहरीका अनुसार फेसबुकमा कुराकानी गर्ने क्रम बढेपछि दुईबीच प्रेम भयो। मायाप्रेम बढ्दै गएपछि गंगा र सुरेन्द्र बिहे गर्ने सहमतिमा पुगे। यस क्रममा सुरेन्द्रले गंगालाई पटकपटक गरेर साढे ४ लाखभन्दा बढी रकमसमेत पठाएको पाइएको प्रहरीको भनाइ छ।

त्यसो त गंगा पनि विवाहित थिइन्। तर एउटी छोरीकी आमा उनले पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी थिइन्। त्यसपछि माइतीघरमा बसेकी उनले सुरेन्द्रसँग फेसबुकमा जोडिएर विवाह गर्ने प्रलोभनमा पारेको तथ्य पाइएको प्रहरीले जनाएको छ। 

डीएसपी बरालले भने, ‘दुई वर्षसम्म फेसबुकमा कुराकानी भएछ। तर पछि दुईजना (सुरेन्द्र र गंगा) बीच आपसमा मनमुटाव हुन थालेछ।गंगाले सुरेन्द्रलाई ब्लक गरेकी रहिछन्। त्यसपछि सुरेन्द्र नेपाल फर्किएछन्। गंगालाई खोज्दै दैलेख आएछन्।’

डीएसपी बरालले थपे, ‘सुरेन्द्र विदेशमा रहँदा गंगाले प्रलोभनमा पारी विभिन्न बहाना बनाई विभिन्न मितिमा विभिन्न माध्यमबाट ४ लाख ४६ हजार ९२० रुपैयाँ ५३ पैसा आर्थिक लाभ देखिन्छ।’

यसरी भयो हत्या
आर्थिक लाभ लिइसकेपछि गंगा एकाएक टाढिन थालेपछि सुरेन्द्र नेपाल फर्किए। तर गंगाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेन्ड गर्दै फोन नम्बर पनि ब्लक गरिदिइन्। 

सुरेन्द्र नेपाल नआइपुग्दै गंगा पासपोर्ट बनाएर विदेश जान भिसाका लागि काठमाडौँसम्म पुगेको पाइएको प्रहरी प्रमुख बराल बताउँछन्। नेपाल फर्किएका सुरेन्द्रले साउन २ गते नम्बर पत्ता लगाएर गंगा र उनका बुवाआमासँग सम्पर्क गरे। 

त्यसपछि सुरेन्द्रलाई गंगाले महाबु गाउँपालिका-४ र ५ को सीमामा पर्ने छामघाट खोलामाथिको झोलुंगे पुलमा भेट्न बोलाइन्। सुरेन्द्र पुग्नासाथ बिस्तारै एकआपसमा झगडा हुन थाल्यो। त्यसपछि सुरेन्द्रलाई पुलबाट घचेटेको प्रहरीको भनाइ छ।

‘हत्या गर्ने दिनसम्म तीनै जनासँग सुरेन्द्रको नियमित सम्पर्क भएको देखिन्छ,’ बरालले भने, ‘बुबाआमाले गंगाको विवाह तपाईंसँग गरिदिन्छौँ भनेर साउन १० गते बोलाएपछि सुरेन्द्र गएका रहेछन्। त्यही दिन उनलाई काँसीकाँधको काप्रिखोलामा रहेको झोलुंगे पुलबाट घचेटेको बयान गंगाले दिएकी छन्।’

उक्त दिन पानी धेरै परेका कारण सुरेन्द्रको शव खोलाले बगाएर दुल्लु नगरपालिका-११, कायलकुना पुर्‍याएको हुनसक्ने प्रहरीको अनुमान छ। 

‘सुरेन्द्रलाई मार्न साउन ६ गते नै योजना बनाएको देखिन्छ। अपराधमा सहयोग गरेको देखिएकाले नैने र भक्कलाई आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारको कारबाहीमा राखिएको छ।’

गंगालाई भने कर्तव्य ज्यान तथा आपराधिक लाभ कसुरमा कारबाही माग गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ। हाल सो मुद्दामा दैलेख जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad