कर्णाली


टी-२० महिला क्रिकेटः लुम्बिनी, सुदूरपश्चिम र गण्डकी विजयी

टी-२० महिला क्रिकेटः लुम्बिनी, सुदूरपश्चिम र गण्डकी विजयी

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १९:२२, सुर्खेत

१९ वर्षमुनिको टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।

शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताअन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद् सुरुवात गर्‍यो।

वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोसीमाथि ८९ रनको जितसहित प्रतियोगिताको सुरुवात गरेको हो। टस जितेर ब्याटिङका लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

लुम्बिनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए। कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हात पार्दा आशना चौधरी र आयुषा बरालले समान दुई–दुई विकेट लिए।

सुदूरपश्चिमले सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमै जित निकाल्यो। सुदूरलाई बलियो सुरुवात दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ति भण्डारीको २० रन सुदूरको जितका लागि महत्त्वपूर्ण आधार बन्यो। १५१ रनको लक्ष्य पछ्याएको कोसी सुदूरपश्चिमका बलरसामु निरीह बने। 

कोसीका कुनै पनि ब्याटरले दोहारो अंक छुन सकेनन्। सुदूरपश्चिमका लागि अञ्जु पार्कीले ४ विकेट लिँदा आशिकाकुमारी महरा र मनिषा चौधरीले २-२ विकेट लिए।

प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जित आत्मसात् गर्‍यो। टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नटआउट ३२ रनको योगदान दिँदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२–१२ रन जोडे।

गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई–दुई विकेट लिए। ९६ रन पछ्याउन क्रिज उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफलनै जितका लागि पर्याप्त भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad