कोशी


प्रदेश १ : सरकार बनाउन केन्द्रकै भर, अलमलमा दलहरू

प्रदेश सरकार गठनको समयसीमा घर्कंदै
प्रदेश १ : सरकार बनाउन केन्द्रकै भर, अलमलमा दलहरू

ध्रुव भट्टराई
पुस १९, २०७९ मंगलबार १५:४१, विराटनगर

प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा गुज्रँदै  जाँदा दलहरू अलमलमा परेका छन्। 

प्रदेशका सत्तासाझेदार दलहरुबीच औपचारिक रुपमा सरकार गठनका लागि छलफल समेत हुन सकेको छैन। सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले सत्ता साझेदार साना दलहरुसँग सामान्य छलफल आगाडि बढाएको भएपनि माओवादी केन्द्रले औपचारिकरुपमा सरकार गठनबारे कुनै दलसँग छलफल सुरु गरेको छैन।

केन्द्रमा शक्ति बाँडफाँटको विषय टुंगो लाग्न ढिलाइ भएसँगै केन्द्रको निर्णय कुरेर बसेका दलहरु अलमलिएका हुन्।

प्रदेश १ मा मुख्यमन्त्री कसको भागमा पर्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। मुख्यमन्त्रीको गाँठो प्रदेशमा फुक्न नसक्दा दलहरु अझैपनि अलमलमा अवस्थामा छन्। केन्द्रले मुख्यमन्त्रीको टुंगो नलगाएको अवस्थामा भने प्रदेशमा एमाले र माओवादी दुवैले मुख्यमन्त्री आफूहरुले पाउनु पर्ने दाबी गर्दै आएका छन्।

एमालेले संसदीय दलका नेता हिक्मत कार्की र माओवादीले संसदीय दलको नेता इन्द्र आङ्बोलाई भावी मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।यद्यपी सत्ता गठबन्धन दलले भने मुख्यमन्त्री कुन दलको भागमा भन्ने विषय अहिलेसम्म टुंग्याउन सकेको छैन।

प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएका छन्। जसका कारण सरकार गठनको विषय पाँच दिन भित्रको टुंग्याउनु पर्ने दबाबममा दलहरु छन्।

केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी छलफल भइरहेको नेताहरुले बताउदै आएका छन्।  

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको बताए। केन्द्रमा गठबन्धन गरेका दलहरुकै संलग्नतामा सरकार बन्ने भएका कारण उनीहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

‘हामीले राप्रपा, जसपासँग छुट्टाछुट्टै छलफल गरिरहेका छौं,’ कार्कीले भने, ‘सरकार गठनका लागि माओवादीसँग भने छलफल भएको छैन।’

उनले  शुक्रबारसम्ममा सरकार गठनको विषयमा टुंगो लाग्ने बताए।

‘केन्द्रले पनि मुख्यमन्त्रीको विषयको टुंगो लगाइसक्ने छ’, कार्कीले भने, ‘योसगै प्रदेशमा सरकार गठनमा विलम्ब हुने छैन।’

यता सरकारको नेतृत्व आफनो दलले पाउनु पर्ने दाबी गरिरहेको नेकपा माओवादी केन्द्रले भने सरकार गठनको विषयमा कुनै दलसँग पनि छलफल नभएको बताएको छ। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश १ कसको नेतृत्वमा बन्छ भन्ने विषयको टुंगो लागेपछि सरकार गठनका लागि दलहरुबीच अनौपचारिक छलफल गरिने बताए।

उनले प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसिमा भित्र सरकार गठनका लागि प्रदेश प्रमुखसँग जाने दाबी गरे। केन्द्रमा बनेको सत्ता गठनबन्ध दलहरुकै सरकार प्रदेशमा पनि बन्ने अवस्था छ। तरपनि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको दुई दिन गुज्रिए पनि सत्ता गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन नसक्दा प्रदेशमा सरकार गठनमा सकस हुँदै आएको नेताहरू बताउँछन्।

गएको आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आगामी पुस २४ गते आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा घर्किदैँछ।

प्रदेश १ मा सत्ता गठबन्धन दल नेकपा एमालेसँग ४० जना सांसद छन्। यस्तै, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपासँग १ जना गरी ६० जना सांसद रहेका छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार निर्माणका लागि ४७ सिट संख्या आवश्यक पर्छ।

एमाले, माओवादी, राप्रपा र जसपा मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ।

प्रदेश १ मा कुनैपनि दलको प्रष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर बहुमत पुर्‍याएर मुख्यमन्त्रीको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुपर्नेछ।

एमालेको नेतृत्वमा रहेको सत्ता गठबन्धनबाटै प्रदेश १ मा पनि सरकार बन्ने स्पष्ट छ। तर, एमाले, माओवादीमध्ये कसले मुख्यमन्त्री लिने भन्ने विषय नटुंगिता दलहरु अलमलमा परेका हुन्।

प्रदेश १ मा सत्ताको दौडधुप, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म क-कसको सम्भावना?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .