ad ad

कोशी


ठेकेदारको लापरबाही : पुल निर्माण सुरु भएको ७ वर्षमा १५ प्रतिशत काम

कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
ठेकेदारको लापरबाही : पुल निर्माण सुरु भएको ७ वर्षमा १५ प्रतिशत काम

तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
फागुन ७, २०७९ आइतबार ७:४१, विराटनगर

ठेकेदारको बेवास्ता कतिसम्म हुन्छ भन्ने नमुना उदयपुर र खोटाङ तथा  भोजपुर र उदयपुर जोडने सुनकोसी नदीमा निर्माणाधिन दुईवटा पुल हेरे पुग्छ।

त्रियुगा नगरपालिका १४ साउने धाब्लाङस्थित सुनकोसी नदीमा निर्माणाधिन पक्की पुल तथा उदयपुरको चौदण्डीगढी नगरपालिका १ मा पर्ने सुनकोसीकै अर्को पुल निर्माण सुरु भएको सात वर्षमा बल्ल १५ प्रतिशत भौतिक प्रगति भएको छ। 

संघीय सरकारका मन्त्री सुदन किराँती तथा प्रदेशका पूर्व दुई मुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईको गृह जिल्ला भोजपुरलाई उदयपुरसँग जोड्ने सुनकोसीमा पुल निर्माण प्रारम्भ भएको वर्षौसम्म पुल निर्माणको काम अलपत्र छ। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकोसीमा निर्माण हुने यी दुई पुलको २०७४ भदौ ३१ गते एकैसाथ शिलान्यास गरेका थिए।

पुल सेक्टर धरानका योजना प्रमुख प्रदीप भण्डारीका अनुसार उदयपुर र खोटाङ तथा  भोजपुर र उदयपुर जोड्ने सुनकोसी नदीको दुबै पुल निर्माणको लागि रसुवा–स्वच्छन्द–पप्पु जेबी काठमाडौं ५० करोड १४ लाख ६० हजार रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो।

यसले हालसम्म ७ करोड ४० लाख रुपैयाँ भुक्तानी लिए पनि दुवै पुलको भौतिक प्रगति भने १५ प्रतिशत मात्र रहेको उनले बताए।

‘पुल निर्माणको काम सुस्त गतिमा चलिरहेको छ’, योजना प्रमुख भण्डारीले भने, ‘पुल निर्माणको कामलाई गति दिन पटक पटक ताकेता गरेका छौं।ठेकेदार कम्पनीले अटेर गदै आएको छ, अहिले पनि काम सन्तोषजनक छैन, त्यसेले अब ठेक्का तोडेर कम्पनीलाई कालो सुचीमा राख्ने तयारी भइरहेको छ।’


काम छिटो गर्न पटक पटक ठेकेदारलाई पत्राचार गर्दै आएको तर, कहिले मेसिन बिग्रेको र कहिले अन्य बहाना गरेर ढिला गर्ने गरेको उनले बताए। 

उदयपुर र खोटाङ जोडने सुनकोसीको पुल २ सय मिटरको रहेको छ। तर अहिलेसम्म नदी वारि र पारि २ वटा पिलर ठड्याउने काम मात्र पूरा  भएको छ।

यी दुवै पुलको म्याद गएको ०७६ असारमा सकिएको हो।

सदरमुकाम त्रियुगाको साउने धाब्लाङ र खोटाङको दक्षिणी गाउँपालिका बाराहापोखरीलाई सोझो यातायातले जोड्ने उक्त पुल अत्यन्त महत्त्वपूर्ण नाका हो। तर, निर्माण कम्पनीले अत्यन्त लापरबाही गरेकाले पुल निर्माणको काम अलपत्र परेको खोटाङ बाराहापोखरी  गाउँपालिकाका अध्यक्ष बालिकराज बन्जाराले बताए।

सुनकोसीमा पुल निर्माणको काम अलपत्र परेपछि ठेकदार कम्पनीलाई पटक पटक काम अगाडी बढाउन आग्रह गर्दा चासो नदिएको उनी बताउँछन्।  

पुल निर्माणको काम अलपत्र हुँदा उदयपुर र खोटाङ जिल्लावासी जनता झोलुङ्गे पुल र डुङा चढेर जोखिम यात्रा गर्न बाध्य भएको अध्यक्ष बन्जाराले बताए ।

उनका अनुसार पुल निर्माण चाँडो गर्न सके उदयपुर हुँदै गाउँपालिका हुँदै सदरमुकाम दिक्तेलसम्मको आउजाउ यात्रा सहज हुनेछ। त्यसै गरी उक्त पुल बनेपछि खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थल बाराहापोखरीको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने छ।

साथै, बाराहापोखरी आसपासका छिमेकी गाउँपालिका र भोजपुरसम्म आउजाउ गर्न सो पुल मुख्य नाका साबित हुने बन्जाराको भनाइ छ।

पुल सम्पन्न भएपछि गाईघाटबाट खोटाङका दक्षिणी भेगका विभिन्न स्थानीयतहरु सडक यातायात सञ्जालसँग जोडिने छन्।

गाईघाट–दिक्तेल सगरमाथा लोक मार्गसँग साउनेमा जोडिएको ५ किलोमिटर कच्ची सडकले धाब्लाङलाई जोडिसकेको छ।

प्रदेश सरकारमार्फत सो सडक ग्राभेल र स्तरोन्नति कार्य भइरहेकाले आउँदो वर्षभित्र कालोपत्रे बनाउने योजनासहित निर्माण भइरहेको छ।  

उता खोटाङतर्फ बाराहपोखरी गाउँपालिकाको साउने चौर हुँदै धाब्लाङसम्मको कच्ची सडक यसअघि नै निर्माण भएर सञ्चालनमा आई सकेको स्थानीय मुकेश राईले बताए।

उनका अनुसार पुल बनेपछि २ जिल्लावासीलाई यातायात आउजाउमा धेरै सहज हुनुका साथै गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण गर्न सजिलो हुने भएकाले स्थानीयको आयआर्जनमा टेवा पुग्नेछ।

यसले दुवै जिल्लावासीको आर्थिक र व्यापारिक गतिविधि बढाउने अपेक्षा जनताको छ।

निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभिका इन्जिनियर अजय लामिछानेले पुल निर्माणको ठेक्का लागे पनि सडकको सहज पहुँच नहुँदा निर्माण सामाग्री पुल निर्माण गर्ने ठाउँसम्म पुयाउन समस्या हुँदा लामो समयसम्म पुल निर्माणको काम अघि नबढेको बताए।

उनले अहिले भने ठेकेदार कम्पनीले तयार पारेको डिजाइन सरकारी पक्षबाट समयमै पास नहुनाले निर्माणको काममा बिलम्भ भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .