कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा जिल्लाको गौरीगञ्जमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेका छन्।
सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त सहयोग हस्तान्तरण गरे।
गौरीगञ्ज क्याम्पसमा आयोजित विशेष कार्यक्रममा चार वटा विद्यालयका २० जना विद्यार्थीलाई साइकल वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो सीमित स्रोत र साधनबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउने प्रयास गरिरहेको उल्लेख गरे।
‘प्रदेशको सामर्थ्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि काम गरिरहेका छौं,’ मुख्यमन्त्री कार्कीले भने, ‘स्रोत थोरै भए पनि केही न केही विद्यालय तथा सामुदायिक क्याम्पसलाई सहयोग पुर्याउँदै आएका छौं।’
त्यसैगरी, मोरङको सुनवर्सी-६ मा रहेको गजादर माध्यमिक विद्यालयमा पनि आजै आयोजित अर्को कार्यक्रममा मुख्यमन्त्री कार्कीले थप १० जना विद्यार्थीलाई साइकल वितरण गरे।
गौरीगञ्ज मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र हो।
Shares

प्रतिक्रिया