कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्यम गर्न चाहने नागरिकका लागि प्रदेश सरकारले ऋणको ब्याज तिरिदिने बताएका छन्।
धनकुटामा शुक्रबार अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले प्रदेश सरकारले बिना धितो ऋणको व्यवस्था गरेको बताए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले उद्यमशीलता विकासका लागि अघि बढाएका कामबारे जानकारी दिएका हुन्।
उनले भने, ‘अब तपाईंहरूले नयाँ र राम्रो खालको उद्यम सुरु गर्न चाहनुहुन्छ भने तपाईंको परियोजना हेरेर बैंकले ऋण दिन्छ, ब्याज प्रदेश सरकारले तिर्छ, धितो राख्नु पर्दैन।’
फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले पूर्वराष्ट्रपतिलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताए। उनले पूर्व राष्ट्रपतिको राजनीतिक संलग्नताबारे भइरहेको चर्चा सन्दर्भमा सम्मानको पक्षमा आफू र नेकपा एमाले रहेको दाबी गरे।
‘संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्तिले सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘उहाँलाई गालीगलोज होइन, सम्मानपूर्वक व्यवहार गरी सामाजिक कार्यमा प्रेरित गर्नुपर्छ।’
उनले नेकपा एमालेको निर्माणमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै सो योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया