कोशी


एउटा जेनजीको सुझबुझले जोगिएको वीरेन्द्र सभागृह

एउटा जेनजीको सुझबुझले जोगिएको वीरेन्द्र सभागृह

सुमन सुस्केरा
भदौ २८, २०८२ शनिबार २२:३, विराटनगर

विराटनगरका सडकमा धुलो उडिरहेको थियो, हावा धुँवाले भरिएको थियो। भदौ २४ गते सरकारी भवनहरूबाट उडिरहेको धुवाँले आकाश कालो देखिन्थ्यो। 

भीड ‘जिन्दावाद-मुर्दावाद’को नारा लगाउँदै अघि बढिरहेको थियो। कोसी प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय, सक भवन, अदालत, मालपोत, नापी आगो लगाउँदै सबै भत्काइँदै थिए। आगोले कागज, कुर्सी र भित्तालाई भस्म बनाइसकेको थियो।

भीड अब ऐतिहासिक वीरेन्द्र सभागृहतर्फ अघि बढ्छ। जेनजीका समर्थकहरू मुख्य गेट तोडेर भित्र पस्न थाले। त्यही बेला, पसिनाले भिजेको अनुहार र काँधमा नेपालको झन्डा बोकेको एक २३ बर्षीय युवक अनमोल लिम्बु भिडअगाडि उभियो। उनी अघिल्लो दिनको जेनजीको आन्दोलन देखि नै सँगसँगै थिए। 

‘यो हाम्रै सम्पत्ति हो, यसलाई नष्ट नगरौं,’ उनको आवाज भीडको हल्ला माझ एक छिन बिलायो। भीड केही क्षण अलमलमा पर्‍यो। कसैले उनको हात ताने, कसैले लुटपाट थालिहाले। तर अनमोलले रोक्ने प्रयास जारी राखे। 

उनको कुरामा साथ दिने केही साथीहरू पनि साथमा थिए। कोहि रोकिनु पर्छ भन्दै थिए केहिले हातमा हतियार बोकेका थिए, कसैका हातमा लाठीहरू थियो। केही साथीहरू आगो बाल्न तातिरहेका थिए। 

अनमोल फेरि अघि बढे, स्वर अझ चर्को भयो, ‘सभागृह भत्काइयो भने हामीले हाम्रो इतिहास नै गुमाउँछौं। बाहिरका सामान लैजाओ, तर भित्र नजाओ। यो चाहिँ जोगाऔं।’

भीडमा अनिश्चितता फैलियो। केहीलाई लांग्यो– यस युवकले भनेजस्तो होला। केही अझै लुटपाटमा लागे, तर आगो सल्केन।
 
अनमोल त्यस दिन घर फर्किए, तर निदाउन सकेनन्। ‘यदि रातभर कसैले आगो लगाइहाल्यो भने?,’ उनी चिन्तित रहे। बिहानै सभागृह पुगे। भवन अझै सुरक्षित थियो। तब मात्र उनको मन शान्त भयो।

अनमोल जनता आदर्श बहुमुखी क्याम्पसका बीएसडब्लु तेस्रो सेमेस्टरका विद्यार्थी हुन्। सामान्य परिवारका यो युवकले त्यो दिन देखाएको साहस असाधारण थियो।

अनमोलले भने, ‘हाम्रो सम्पत्ति जोगाउन सक्नु नै खुसिको कुरा हो। वीरेन्द्र सभागृह जोगाउन पाउँदा गर्व लागेको छ।’

अराजक भिडलाई सम्झाउँदै सभागृहको सुरक्षा सुनिश्चित गर्नु, भिडलाई बाहिर निकालेर आगजनी रोक्नु र ऐतिहासिक संरचना बचाउनु अनमोलको नेतृत्व र साहसको प्रत्यक्ष प्रमाण हो। 

तेजनारायण चौधरीसहितका साथीहरु उनको साथमा थिए। तेजनारायणलगायतको सहयोग पाएपछि उनी एक्लै भिडलाई सम्झाइबुझाइ गर्न अघि सरे। जसका कारण आगजनी हुन पाएन। सामान्य लुटपाट मात्रै भयो।

जेनजी आन्दोलनबीच जन्मिएको उनको योगदानले विराटनगरमा एउटा प्रेरणादायी कथा सिर्जना गरेको स्थानीय बताउँछन्।  

करिब २३ करोड खर्चेर पुनः प्रयोगमा ल्याइएको सभागृहलाई भत्किनबाट जोगाउनुमा यो कुनै सानो कुरा थिएन।

विराटनगर महानगरपालिका ६ का अनमोल यो काम पछि सामाजिक सञ्जालमा  भिडियोहरू अहिले भाइरल भएका छन्। अधिकांश सरकारी संरचना खरानी भएको दिन, एउटा सभागृह सुरक्षित रह्यो।

२०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव मानिन्छ। यसलाई विराटनगर महानगरपालिकाले पुरानो आकृति सुरक्षित राख्दै करिब २३ करोड रुपैयाँ खर्चेर ‘रेट्रोफिट’ गरी पुनः प्रयोगमा ल्याएको थियो। 

गत वर्ष रेट्रोफिटिङ पूरा भएपछि वीरेन्द्र सभागृहलाई खुला गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad