इटहरी उपमहानगरपालिकाले म्याजिक तथा साना सवारी साधनलाई पनि बसपार्क प्रवेश गर्न अनिवार्य गरेपछि बिहान केहीबेर इटहरी क्षेत्र अस्तव्यस्त भएको छ।
साना सवारी साधनहरूबाट समेत बसपार्क प्रयोग गरिए बापतको रकम असुल्न अनिवार्य बसपार्क छिराउने नीति उपमहानगरपालिकाले लिएको भन्दै त्यसको विरोध भएको हो। उपमहानगरपालिकाले विशेष गरी पहाडी रुटमा चल्ने गाडी र म्याजिक भ्यानहरूलाई अनिवार्य रूपमा बसपार्कभित्रबाट सञ्चालन गराउने गरी नयाँ नियम लागू गर्न खोजेपछि आज बिहान व्यवसायीहरूले केही समय विरोध जनाएका थिए। ट्राफिक प्रहरीसँगको समन्वयमा आज बिहानदेखि म्याजिक भ्यानहरूलाई बसपार्कभित्र छिराउन सुरु गरेको थियो।
व्यवस्थित नाममा साना सवारी साधनहरूलाई दुःख दिन खोजिएको भन्दै म्याजिक व्यवसायीहरूले असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका थिए। म्याजिक व्यवसायीहरूले सडक मै गाडी राखिदिँदा इटहरी बजार अस्तव्यस्त भएको थियो।
बजार व्यवस्थापन र सर्वसाधारणको सहजताका लागि उपमहानगरपालिकाले सकारात्मक उद्देश्यसहित यो कदम चालेको दाबी गरे पनि व्यवसायीहरूले सुरुमा यस व्यवस्थाप्रति असहमति प्रकट गरेका हुन्। उपमहानगरपालिकाले पहाडी रुटमा चल्ने गाडी र म्याजिक भ्यानहरूलाई अनिवार्य रूपमा बसपार्कभित्रै लैजानुपर्ने भन्दै ट्राफिक प्रहरी परिचालन गरेपछि आफूहरू आन्दोलित हुनु परेको व्यवसायीको भनाई छ।
सडकमा हुने अव्यवस्थित पार्किङ हटाउने र यात्रुलाई सहज बनाउने दाबी गरिए पनि उपमहानगरपालिकाको यो शैली व्यवसायीलाई दुःख दिने नियतबाट प्रेरित भएको आरोप लाग्दै आएको छ। बिना कुनै पूर्व तयारी र व्यावहारिक विकल्पबिना नै एक्कासी सवारी साधनहरू बसपार्कभित्र हुल्न थालेपछि व्यवसायीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडकमै उत्रिएर विरोध गरेका थिए।
उपमहानगरपालिकाले सहर व्यवस्थित गर्ने नाममा चारैतिरबाट घेरा हालेर पैसा उठाउने र व्यवसायीलाई सास्ती दिने रणनीति बनाएको भन्दै आलोचना समेत सुरु भएको छ। यस व्यवस्थापनका बारेमा पूर्व जानकारी गराइएको दाबी ट्राफिक प्रहरीको छ। चौतर्फी विरोध र असन्तुष्टि चर्किएपछि अन्ततः उपमहानगरपालिका, ट्राफिक प्रहरी र व्यवसायी बिच भोलि छलफल गर्ने भएपछि यातायात सुचारु भएको थियो।
विवाद समाधानका लागि भोलि सोमबार दिउँसो १ बजे उपमहानगरपालिका, ट्राफिक प्रहरी र म्याजिक व्यवसायीका प्रतिनिधिहरूबिच संयुक्त बैठक बस्ने सहमति भएको छ।
केही दिन अघि मात्रै सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र मेयरको उपस्थितिमा बसेको बैठकले बाहिर सडकमा गुड्ने गाडीहरू बसपार्कभित्र छिराउने निर्णय गरेको थियो।
सडकको भद्रगोल हटाउने र यात्रुलाई सहज बनाउने गरी बनाइएको कारण अहिले यो नियम कार्यान्वयन गराउन ट्राफिक प्रहरी लागेको छ।
सडकमा झन्डै ६०० को सङ्ख्यामा गुड्ने म्याजिक भ्यानहरू रहेकोले तिनीहरूलाई व्यवस्थित गर्न लागिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारीहरूले पसल अगाडि गाडी पार्किङ हुँदा व्यवसाय चौपट भएको गुनासो गरेका कारण अहिले यो व्यवस्थापनको काम थालिएको उनको भनाई छ।
‘काठमाडौँ वा अन्य क्षेत्रबाट आउने यात्रुहरूले एकै स्थानबाट धरान, विराटनगर वा पहाडी जिल्लातर्फ जाने सवारी साधन पाउन सकुन् र यात्रुलाई सहज होस् भन्ने व्यावहारिक उद्देश्यले यो कदम चालिएको हो,’ उनले भने, ‘मुख्य बजार क्षेत्रमा सवारी साधनको जथाभाबी पार्किङका कारण व्यवसाय प्रभावित भएको भन्दै उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारीहरूले समेत यसअघि पटक–पटक गुनासो गर्दै आएका थिए।’
Shares

प्रतिक्रिया