कोशी


कोसी सरकारको भविष्यबारे कांग्रेसले भोलि निर्णय लिने, अरू दलसँग सहकार्यको सम्भावना कति?

कोसी सरकारको भविष्यबारे कांग्रेसले भोलि निर्णय लिने, अरू दलसँग सहकार्यको सम्भावना कति?

नेपालखबर
असार ३१, २०८३ बुधबार १८:३६, विराटनगर

​कांग्रेस-एमालेको सत्ता साझेदारी ढुल्मुलिन थालेको छ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा देखिएको सत्ता तरंगको प्रत्यक्ष असर कोसी प्रदेशमा पनि पर्न सक्ने देखिएको छ।

कोसी प्रदेशका सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले गठबन्धन सरकार संकट नजिक पुगेको बताएका छन्।

दलहरूको बिचमा जुनखालकाे तिक्ततापूर्ण अवस्था बनेको छ त्यसले प्रदेशका सबै सरकारलाई असर गर्ने एक कांग्रेस नेताले बताए।

​नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा आधिकारिक निर्णय लिन भोलि बिहीबार बिहान कांग्रेस कार्यदलको बैठक बोलाएको छ।

नेपाली कांग्रेस स्रोतका अनुसार, वर्तमान एमाले-कांग्रेस गठबन्धन संकटमा परेको र केन्द्रको आधिकारिक निर्देशन आइनसकेकाले प्रदेश कार्यदलको बैठकबाट ठोस निर्णय लिने भन्दै बैठक बोलाइएको छ।

​भोलि (बिहीबार) बस्ने कांग्रेस कार्यदलको बैठकमा संसदीय दलका नेता, उपनेता, संसदीय दलको सचिव, प्रमुख सचेतक, सरकारमा सहभागी नेतृत्वकर्ता मन्त्री, प्रदेश महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा सहभागी हुनेछन्।

त्यस्तै मीन विश्वकर्मा तथा अमृत अर्याल र  गयानन्द मण्डललाई पनि बैठकमा सहभागी गराउने तयारी कांग्रेस दलको बैठकको छ। बिहीबार बिहान बस्ने बैठकले कोसी प्रदेश सरकारमा कांग्रेसको निरन्तरता वा बहिर्गमनको टुंगो लगाउने छ।

काेसी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुदूरपश्चिम प्रदेशमा एमाले मन्त्रीहरूलाई हटाइएका कारण कांग्रेसले देशभर नै एमाले नेतृत्वका सरकार छाड्न सक्ने सम्भावना रहेको संकेत गरेका छन्।

कोसी प्रदेशमा अहिलेसम्म कांग्रेसले सरकार नछाडेको भए पनि परिस्थिति स्पष्ट हुन अझै केही समय लाग्ने उनको भनाइ छ। एमालेसँग आफ्नै ४० सिट सुरक्षित रहेकाले सरकार टिकाउन थप केही सिट मात्र आवश्यक पर्ने भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेस बाहिरिएको खण्डमा अन्य दलसँग सहकार्य हुन सक्ने वा एमाले प्रतिपक्षमा बस्ने विकल्प खुला रहेको नेपालखबरलाई बताए।

उनले भने, ‘अहिलेसम्म एमाले र कांग्रेस सत्ता साझेदार दल हौँ, काेसी प्रदेशमा अरू प्रदेशको जस्तो कुनै समस्या आएको छैन र कांग्रेसले पनि जानकारी गराइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad