कास्की प्रहरीले बहुमूल्य क्रिस्टल रहेको भन्दै प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरपालिका-१८ का एक व्यक्तिलाई आफूहरूसँग अन्धकारमा उज्यालो दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तुरुन्तै फूल बनाउने अद्भूत शक्ति भएको बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियो देखाएर विश्वास दिलाएका थिए।
त्यस क्रममा पीडितबाट १० लाख रुपैयाँ ठगी गरेको र पछि थप २० लाख रुपैयाँ माग्दै धम्की दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पोखरा-२६, कालिकास्थानबाट ६ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट क्रिस्टलजस्तो देखिने सेतो टल्किने वस्तु एक थान, काठको फोल्डिङ बट्टा, चार्जर तथा ६ थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया