कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको आर्थिक विकास र समृद्धिको पहिलो र मुख्य फाउन्डेसन (आधार) पर्यटन क्षेत्र नै भएको दाबी गरेका छन्।
कोसी प्रदेशमा जलविद्युत्, खनिज, कृषि र वैकल्पिक ऊर्जाका थुप्रै अपार सम्भावनाहरू भए पनि राष्ट्रिय पुँजीको विकास र समृद्धिका लागि पर्यटन नै पहिलो प्राथमिकता भएकोले सरकारले आगामी २ वर्षसम्म पर्यटन वर्ष मनाउने सरकारले नीति लिएको बताए।
सुन, युरेनियम, फलाम, पेट्रोलियम पदार्थ र ग्यास खानीको उत्खनन तथा जलविद्युत् उत्पादन गरेर प्रसारण लाइनमार्फत बिक्री गर्दा ठुलो आम्दानी हुने भए पनि ती सबै क्षेत्र पर्यटनपछिका दोस्रो प्राथमिकता मात्र भएको मुख्यमन्त्री कार्कीको दाबी छ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि सुरु भएको पर्यटनको यात्राले देशको आर्थिक विकासमा ठुलो योगदान पुर्याएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत रूपमा नेपालको भविष्य पर्यटनसँगै जोडिएको कुरामा आफू पूर्ण रूपमा कन्भिन्स (विश्वस्त) रहेको र यसका लागि बहसमा उत्रन तयार रहेको स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका सन्दर्भमा कोशी प्रदेशले आजका दिनमा एक नयाँ उचाइ प्राप्त गरेको धारणा राखे। पर्यटन विकासको बलियो जग (फाउन्डेसन) तयार पार्नका लागि इन्जिनियरिङ, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), उपयुक्त स्थानको छनोट र आवश्यक सामग्रीसमेत व्यवस्थापन गर्न प्रदेश सरकार सफल भएको उनले बताए।
कुनै पनि संरचना निर्माणका लागि जग्गा छनोट, वातावरणीय अध्ययन, नक्साङ्कन र गुणस्तरीय सामग्रीको कम्बिनेसन आवश्यक पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार अहिले त्यही परिपक्व ठाउँमा आइपुगेको दाबी गरे।
सरकारी कामकाजको ढर्रा र बजेटपछिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री कार्कीले असार र साउन महिनालाई काम नगर्ने महिनाका रूपमा लिइने गलत परम्परालाई तोड्न आफूले प्रयास गरिरहेको बताए। विगतका दिनमा असारमा फरफारकको दौडधुप हुने र साउनमा बजेट पास भएपछि कर्मचारीहरू सम्पर्कविहीन हुने विकृति रहेको स्मरण गर्दै कार्कीले प्रशासनिक क्षेत्रमा केही सुधार प्रारम्भ भएको उल्लेख गरे।
असार महिनाभित्रै आगामी आर्थिक वर्षको कार्यसम्पादन मोडालिटी र खरिद प्रक्रियाको औपचारिक आरम्भ गरिसक्नुपर्ने आफ्नो सोचले पूर्ण सार्थकता नपाएको स्वीकार गर्दै उनले भोलि वा पर्सिभित्रै सबै मन्त्रालयका सचिवहरूसँग दुई घण्टा गहन छलफल गरी नयाँ आर्थिक वर्षको कामलाई तत्काल अघि बढाउने स्पष्ट पारे।
पछिल्लो दुई आर्थिक वर्षमा मनाइएको पर्यटन वर्षको सन्दर्भमा मुख्यमन्त्री कार्कीले गरेका कार्यक्रमहरूको पनि बिल भरपाई खर्चको व्यवस्थापन नै चुनौती देखिएकोले नीतिगत समस्या हुँदै गएको सुनाए। मुख्यमन्त्री कार्कीले पर्यटन वर्षको सन्दर्भमा संसदमा भइरहेका आलोचना र टीकाटिप्पणीप्रति लक्षित गर्दै रचनात्मक प्रश्नहरूलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। सरकारले आगामी दुई वर्षको पर्यटन वर्षका योजना ल्याएको विषयमा बचाउ गर्दै उनले एक वर्षको अवधि मात्र पर्याप्त नहुने भएकाले दुई वर्षको लक्ष्य राखिएको प्रस्ट पारे।
योजना आयोगले आवधिक योजना ल्याउँदा पनि उपाध्यक्ष र सदस्यहरूको पाँच वर्षकै निरन्तरताको ग्यारेन्टी नहुने उदाहरण दिँदै उनले भोलि आउने नयाँ सरकारले आफ्ना नीतिअनुसार पुराना योजना परिमार्जन वा खारेज गर्न सक्ने भएकाले यसमा धेरै आपत्ति जनाउनु आवश्यक नभएको जिकिर गरे।
आगामी आर्थिक वर्ष २०८३।०८५को भ्रमण वर्ष बनाउने बारेमा पर्यटन गुरुयोजना बनाएर अघि बढ्ने तयारीमा सरकार रहेको छ। कोसी प्रदेशका २० वटा पर्यटकीय गन्तब्यहरूलाई मुख्य गन्तव्य बनाई गतिविधि बढाउने तयारी गरेको थियो। सरकारले कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष तारनाथ निरौलाको संयोजकत्वमा बनेको कार्यदलले कोसी प्रदेशका प्रमुख पर्यटन गन्तव्य छनोट मापदण्ड निर्धारणको विषयमा छलफल गर्न सोमबार कार्यशाला आयोजना गरेको थियो।
मुख्यमन्त्री कार्कीले यदि गन्तव्यहरू २० भन्दा राम्रा आए भने २५ वटासम्म बनाएर जाँदा पनि प्रदेशमा फरक नपर्ने बताएका थिए। पर्यटन गुरु योजनामा समेट्नुपर्ने विषयलाई लिएर पाँच वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, प्रदेश योजना आयोगका सदस्य किशोर राई वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर इन्द्र सापकोटा, पर्यटन विज्ञ सुमित बराल र डाक्टर रोशन शेरचनले प्रदेशका पर्यटनको प्राथमिकता र पर्यटकीय गन्तव्यको प्राथमिकता निर्धारणका मापदण्डहरू प्रस्तुत गरेका थिए। कोशी प्रदेश सरकारले २०८२ लाई भ्रमण वर्ष मनाउँदा ८२ वटा गन्तव्य छनोट गरेको थियो।
प्रदेश सरकारले २० वटा मुख्य गन्तव्य छनौट गर्दा ५ वटा सङ्घ, ७ वटा प्रदेश, ५ वटा स्थानीय तहसँगको सहकार्यमा र ३ वटा सार्वजनिक निजी साझेदारीमा काम गर्ने गरी गुरुयोजना बनाउने तयारी भएको योजना आयोगका उपाध्यक्ष निरौलाले बताए।
Shares

प्रतिक्रिया