कारोबार


महंगी बढेको संकेत, मुद्रास्फीति दोब्बरले वृद्धि

महंगी बढेको संकेत, मुद्रास्फीति दोब्बरले वृद्धि

नेपालखबर
असार २९, २०८३ सोमबार २२:३८, काठमाडौँ

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले महंगी दोब्बरले बढेको संकेत गरेको छ। 

गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२÷८३ को एघार महिनाको औसत मुदास्फीति २.८९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। 

गत जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १७.४० प्रतिशत, घ्यू तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.९३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ।

२०८३ जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.३८ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७५ प्रतिशत, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशत, तराईको ५.७४ प्रतिशत, पहाडको ५.०७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad