मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी फेरि विवादित बनेका छन्।
पछिल्लो एक वर्षदेखि गाउँपालिकामा विभिन्न विवाद सार्वजनिक हुँदै आएकोमा पालिका अध्यक्ष माझीसँग उपाध्यक्ष तथा वडाअध्यक्षहरूबीचको पछिल्लो विवाद सतहमा आएको हो।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित नमोनारायण माझीले नियम विपरित काम गर्दै आएको पालिका सदस्यहरूको आरोप छ।
पालिका अध्यक्ष माझीले केही महिनाअघि बजेट अभाव देखाउँदै उपाध्यक्ष र वडाध्यक्षहरू चढेको सवारी साधनहरू खोसेका थिए। जनप्रतिनिधिले कुनै पनि सरकारी साधनहरू नचढ्ने भन्दै सबै वडा अध्यक्ष र उपाध्यक्षले चढ्दै आएको दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारी साधन उनले कार्यालयमा थन्क्याएका थिए।
तर, अहिले उनै अध्यक्ष माझीले दुईवटा सवारी साधन लिएर काठमाडौँ हिँडेका छन्। २०८१ फागुनमा अध्यक्ष माझीले उपाध्यक्ष गुणावती देवी थारु र वडाध्यक्षहरूका मोटरसाइकल तथा गाडी बलजफ्ती रोक्का गरेका थिए। त्यति बेला उनले इन्धन खर्चका लागि बजेट नभएको भन्दै आएका थिए।
तर, कार्यपालिका बैठकमा आफ्ना प्रस्तावहरूलाई समर्थन नपाएपछि उनले असन्तुष्ट भई सवारी साधन खोसेको आरोप लाग्दै आएको छ। अहिले भने गाउँपालिकाको गोदाममा थन्क्याइएका तिनै गाडीमध्ये को १ झ ५७८ र प्रदेश १–०४–००१ झ ००२० नम्बरका दुई सवारी लिएर अध्यक्ष माझी काठमाडौँ पुगेका हुन्।
पालिका स्रोतका अनुसार, पार्टी कार्यकर्ता, केही वडा सदस्य र कार्यपालिका सदस्यसहित राजधानी पुगेका हुन्। चर्चामा आउनको लागि सरकारी गाडी आफू पनि नचढ्ने र अरूलाई पनि चढ्न नदिने बताएका अध्यक्षको यो कार्यलाई अन्य जनप्रतिनिधिले आपत्ति जनाएका छन्।
उपाध्यक्ष गुणावती थारुले अध्यक्ष आफैँ पनि गाडी नचढ्ने भन्दै आफूले प्रयोग रहेको गाडी खोसेका बताइन्। अहिले उनी आफैँ त्यही गाडी लिएर काठमाडौँ पुगेको भन्दै अध्यक्ष फर्किएपछि यसबारे औपचारिक जवाफ माग्ने उनले जानकारी दिइन्।
थारुले गाडी खोसिएपछि ती सवारीलाई एम्बुलेन्स वा शव वाहनमा रूपान्तरण गर्न माग गरेकी थिइन्। त्यसपछि दबाबमा परेका अध्यक्ष माझीले उपाध्यक्ष र वडाध्यक्षहरूलाई गाडी फिर्ता लिन पत्र पठाएका थिए, तर थारुले गाडी नचढ्ने निर्णयमा अडान लिएकी थिइन्।
उपनिर्वाचनबाट निर्वाचित अध्यक्ष माझीले पद सम्हालेपछि गाउँपालिकामा विभिन्न विवादास्पद कदम उठाउँदै आएका छन्। कानुन विपरीत गाउँसभा बोलाउने, उपाध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने, प्रवक्ता हटाउने, किसानलाई मल वितरण रोक्ने र न्यायिक समितिका सदस्यहरू हटाउनेजस्ता उनको कामको अन्य जनप्रतिनिधिहरूले विरोध गर्दै आएका थिए।
अध्यक्ष माझीले वडाध्यक्षलाई उपाध्यक्षको सट्टा कार्यवाहक तोक्ने, सडक किनारमा बसोबास गर्ने स्थानीयलाई उचित व्यवस्था नगरी हटाउनेजस्ता निर्णयका कारण आलोचना खेप्नुपरेको छ।
माझीले अहिलेसम्म सरकारी गाडी नचढ्ने भन्दै आएकोमा कार्यालयमा थाहै नदिई सरकारी गाडी लिएर हिँडेको विषयले अहिले अध्यक्ष माझी फेरि चर्चामा आएका छन्। गाडी लिएर हिँडेको बारेमा जानकारी लिन नेपालखबरले अध्यक्ष माझीलाई सम्पर्क गर्दा उनले आफूले गाडी काठमाडौँमा सरकारी कामका लागि मात्र प्रयोग गरेको दाबी गरेका छन्।
उनले भने, ‘म भोजभतेर वा पिकनिक खान आएको होइन, सरकारी कामका लागि आएको हुँ। यो मेरो व्यक्तिगत स्वार्थको विषय होइन।’ आफूले गाउँपालिकामा सुशासन कायम गर्नकै लागि सरकारी गाडी चढ्ने कदम चालिएको पनि भन्न भ्याए।
‘म सुशासनका लागि सङ्घर्षरत छु, तर म आफैँ सुशासन पाएको छैन,’ उनी भन्छन्, ‘सङ्घीय मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा हरेक महिना धाउनु परेको छ, तर सहयोग नपाउँदा समस्या परेको छ।’
उनीहरूबीचको संवादमा इन्धन खर्च, मर्मतको हिसाब–किताब र गाडी प्रयोगको औचित्य बारेमा प्रश्न गर्दा उनी रिसाएका थिए।
उनी सहित उनले १० जनालाई लिए काठमाडौँ २ वटा सवारी नै लिएर गएको बताएका छन्। नेपालखबरसँगको कुराकानीमा उनले आफू काठमाडौँबाट फर्किँदै गरेको बताएका छन्।
Shares

प्रतिक्रिया