कोशी


आफ्नो ह्वाट्सएपबाट सहयोग माग्दै ठगी गर्ने क्रम नरोकिएपछि साइबर ब्युरो पुगे व्यवसायी लुइँटेल

आफ्नो ह्वाट्सएपबाट सहयोग माग्दै ठगी गर्ने क्रम नरोकिएपछि साइबर ब्युरो पुगे व्यवसायी लुइँटेल

सुमन सुस्केरा
कात्तिक २०, २०८२ बिहिबार ११:१८, विराटनगर

मोरङको लेटाङ नगरपालिका-२, फडानी घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने रोशन लुइँटेल काठमाडौँस्थित पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रबन्ध निर्देशक हुन्। 

उनको ह्वाट्सएपबाट साथी आयुष्मा प्राजोलाई एकाएक एउटा म्यासेज जान्छ- ‘मेरो परिवारमा समस्या परेको छ, मलाई तत्काल ५० हजार पठाएर सहयोग गरिदिनुहोला।’

आफ्नो ह्वाट्सएपमा अंग्रेजी भाषामा त्यस्तो म्यासेज आएपछि ठुलै समस्या पर्‍यो कि क्या हो भनेर आयुष्माले रोशनलाई तत्काल फोन गर्छिन्। तर त्यो म्यासेज रोशनले पठाएका थिएनन्। 

त्यतिबेलासम्म उनको ह्वाट्सएप नम्बरबाट धेरैलाई त्यस्तो म्यासेज गइसकेको थियो। रोशन तनावमा पर्छन्।

अनि चिनेजानेका सबैलाई फोन गर्छन्। म्यासेज पठाउँछन् र आफ्नो ह्वाट्सएप ह्याक भएको जानकारी गराउँछन्।

व्यवसायी रोशन लुइँटेल सामाजिक सञ्जालमा लेख्छन्, ‘मेरो ह्वाट्सएप एकाउन्ट हाल ह्याक गरिएको छ र ह्याकरले मेरो नामबाट सबैलाई पैसा माग्ने सन्देश पठाइरहेको छ। कृपया! त्यस्ता सन्देशहरूलाई इग्नोर गरिदिनुहोला।’

उनले आफ्नो पोस्ट सेयर गरिदिन पनि आग्रह गरे।

रोशनका अनुसार, ह्याकरले झन्डै २४ घण्टामा धेरै जनालाई प्रभावमा पारेर ठगी गरेको भन्ने जानकारी आएको छ। उनले यस विषयमा सम्बन्धित सबै साथीलाई जानकारी त गराए तर समस्या समाधान हुन सकेको छैन।

घटना सामान्य लागे पनि यसले निकै तनाव दिएको लुइँटेलले नेपालखबरलाई बताए।

ह्याकरले कमलाकुमारी बोहराको ई सेवा क्यूआर पठाएको समेत पाइएको छ। उक्त ह्याकरले ५–७ जनाको क्यूआर पठाउने गरेको खुलेको लुइँटेलले बताए। 

उनले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र साइबर ब्युरोमा उजुरी दिएका छन्।

हरेक मानिसलाई फरक-फरक क्यूआर पठाउने र ठगी गर्ने गरेको पाइएको उनले बताए।

‘केहीले त पैसा पठाइसकेका रहेछन्, एकजना साथीले एक लाख १० हजार पठाएको जानकारी दिनुभयो,’ उनले भने, ‘ब्लक गर्न पहल गर्दा पनि काम भएको छैन। मेटाले हाम्रो रिक्लेस्टलाई स्वीकार गरेकै छैन।’

कसैसँग ३०, कसैलाई ४०, कसैलाई ५० हजार त कसैलाई एक/डेढ लाखसम्म मागेको पाइएको उनले बताए। 

यस्तै समस्या केही दिनअघि विराटनगरका पत्रकार देवनारायण यादवलाई पर्‍यो। उनले पनि प्रहरी गुहार्न परेको थियो।

जानकार व्यक्तिहरूसँग सल्लाह लिँदै अकाउन्टलाई ह्याकरको कब्जाबाट मुक्त गराउन झन्डै ६ घण्टा लागेको उनले बताए।

यादवले नेपालखबरलाई सुनाए, ‘मेरो कुराकानी गर्ने तरिकाका कारण कसैले पनि पैसाचैँ पठाएनछन्। तर ह्याकरले सबैलाई म्यासेज भने पठाएको रहेछ। साथीहरूले मलाई फोन गरेर नै सोध्नुभयो।’

सुरुमै मोरङका प्रहरी प्रमुख कवित कटुवाललाई जानकारी गराएपछि समस्या समाधान गर्न सजिलो भएको यादव बताउँछन्। 

पत्रकार सुनील न्यौपाने पछिल्लो समय ह्वाट्सएप ह्याक गर्ने र ठगी गर्ने प्रवृत्ति बढेको बताउँछन्।

‘हिजोआज ह्वाट्सएप ह्याक गरेर पैसा माग्ने गरिएको छ। कति बेला कसको ह्याक हुन्छ, ठेगान छैन,’ पत्रकार न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ह्वाट्सएपबाट कसैले पैसा मागे नदिनुहोला, म कसैसँग त्यसरी पैसा माग्दिनँ। मेरोबाट आए पनि एकसुका नदिनुहोला।’

साइबर विज्ञका अनुसार ह्वाट्सएप तथा सामाजिक सञ्जाल ह्याक हुने प्रमुख कारण ओटीपी वा भेरिफिकेसन कोड अरूलाई पठाउनु हो।

कमजोर पासवर्ड र दुई चरण प्रमाणीकरण नगर्दा पनि यस्ता समस्या आउने गरेको उनीहरू बताउँछन्। त्यस्तै अनजानमा लिंक वा क्यूआर कोडमा क्लिक गर्दा पनि ह्याक हुने विज्ञहरूको भनाइ छ। 

सार्वजनिक वाइफाई प्रयोग गर्दा सुरक्षा नअपनाउँदा पनि ह्याक हुने गरेका घटना उजुरीमा आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवाल बताउँछन्।

सुरक्षा अधिकारीहरूका अनुसार पैसा माग्ने सन्देश आएमा प्रत्यक्ष फोन गरेर पुष्टि गर्ने, कुनै पनि क्यूआर कोड वा लिंकमा क्लिक नगर्ने, टु स्टेप भेरिफिकेसन सक्रिय पार्ने, प्रहरीको साइबर ब्युरोमा खबर गर्ने र बैंकिङ लेनदेन भएमा सम्बन्धित बैंकलाई तुरुन्त जानकारी दिने गर्नुपर्छ। 

अनलाइनमार्फत भइरहेका वित्तीय ठगी (फाइनान्सियल फ्रड) नियन्त्रणका लागि नेपाल प्रहरीले अनलाइन फाइनान्सियल फ्रड ई-रिपोर्टिङ सिस्टम विकास गर्ने प्रयास गरेको थियो। तर यसले पूर्णता पाउन सकेन। उक्त प्रणालीमार्फत ठगी घटनामा तत्काल रिपोर्ट गर्न, र स्वचालित रूपमा ठगको बैंक खाता रोक्न सकिने व्यवस्था हुने भनिएको थियो। 

परियोजनाको अवधारणापत्र तयार गर्नेमध्येका एक  एसपी कटुवालका अनुसार,  यो प्लाटफर्मले पीडितलाई छिटो न्याय दिलाउने उद्देश्य राखेको थियो।

‘फ्रड भएपछि तत्काल अनलाइनमार्फत रिपोर्ट गर्न सकिन्छ, प्रणालीले स्वचालित रूपमा सम्बन्धित बैंक खातालाई अस्थायी रूपमा रोक्ने योजना बनेको थियो,’  उनी भन्छन्, ‘त्यसपछि भोलिपल्ट पीडितले प्रहरीमा औपचारिक उजुरी दिन सक्नेछन् भन्ने उद्देश्य राखेको थियो।’ 

नेपालमा पछिल्लो समय अनलाइन माध्यमबाट ह्याकिङ र व्यक्तिगत खातामा पहुँच पुर्‍याउन गतिविधि बढेको देखिन्छ। साइबर सुरक्षाविज्ञहरूका अनुसार, ह्याकिङबाट जोगिन प्रयोगकर्ताले सावधानी अपनाउनुपर्छ र असुरक्षित लिंक, अनौठो अफर वा पासवर्ड सेयर गर्न हुँदैन।

ह्याकरबाट पीडित व्यवसायी लुइँटेलले सामाजिक सञ्जाल सञ्चालक कम्पनीले प्रयोगकर्ताको गुनासो सुनुवाइ नै नगर्ने गरेको गुनासो गर्छन्। यसका लागि सामाजिक सञ्जाल नियमन गरिनुपर्ने उनको भनाइ छ। 

उनी भन्छन्, ‘सामाजिक सञ्जालहरूको आधिकारिक प्रतिनिधि नेपालमा नै हुने हो भने हाम्रोजस्तो समस्या तत्काल समाधान हुनसक्थ्यो, मैले मेटालाई पटकपटक इमेल पठाउँदा पनि बेवास्ता गरेको छ, ह्याकरले पैसा मागेर साथीहरूबाट लाखौँ पैसा उडाइदिसक्यो, रेस्पोन्स नै गर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad