कोशी


२१ वर्षकी प्रधानाध्यापक स्मारिका भन्छिन् : कल्पना पनि गरेको थिइनँ, जिम्मेवारीले उमेर हेर्दैन रहेछ

हरेक दिन ६ घण्टा हिँडेर पुग्छिन् विद्यालय
२१ वर्षकी प्रधानाध्यापक स्मारिका भन्छिन् : कल्पना पनि गरेको थिइनँ, जिम्मेवारीले उमेर हेर्दैन रहेछ

प्रधानाध्यापक स्मारिका राई


सुमन सुस्केरा
मंसिर १६, २०८२ मंगलबार १०:३८, विराटनगर

बिहान साढे ६ बजे। धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ९, हर्दिया शीतले निथ्रुक्क छ। घामको झुल्कोसँगै हतारमा छिन्- प्रधानाध्यापक २१ वर्षीया स्मारिका राई।

हातमा झोला, आँखाभरि बालबालिकाको भविष्यको दायित्व बोकेर उनी ७ बज्नासाथ विद्यालयको बाटो समाउँछिन्।

उकालीओराली गर्दै विद्यालय पुग्न उनलाई ३ घण्टा लाग्छ। 

हिँडाइले उनी थकित हुन्छिन्। तर जब आफ्नाअगाडि कलिला बालबालिका देख्छिन् तब सबै कुरा भुल्छिन्। 

उनी भन्छिन्, ‘थाकिन्छ नि! म पनि आइरन-म्यान त हैन। तर स्कुल पुग्नेबित्तिकै सबै थकान हराउँछ।’

उनले प्रधानाध्यापक पद कुनै योजना बनाएर पाएकी होइनन्। 

उनले सुरुमा २०८१ चैत ६ गते साँगुरीगढी गाउँपालिका-८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयमा शिक्षकका रूपमा नियुक्ति पाइन्। तर उनी चैत १४ गते मात्रै विद्यालयमा हाजिर भइन्।

स्थानीय पालिकाले आफूलाई चैत १४ गते मात्रै नियुक्ति दिएको उनले बताइन्। 

राई प्राथमिक तहको स्थायी शिक्षकका रूपमा नियुक्ति भएर त्यहाँ गएपछि पुराना अस्थायी शिक्षकहरू एकपछि अर्का बिदा भए।

अनि धेरैको बिचबाट उनी एकैचोटि ‘सबैभन्दा कान्छी’ प्रधानाध्यापक बन्न पुगिन्।

‘मलाई प्रधानाध्यापक बनाइदिन्छन् भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनी भन्छिन्, ‘नियुक्ति लिएर आएपछि बल्ल थाहा भयो- जिम्मेवारीले उमेर हेर्दैन रहेछ।’

थोरै विद्यार्थी र जिम्मेवारी
जम्माजम्मी १८ जना विद्यार्थी। त्यसमा पनि कहिले ५, कहिले ३ त कहिले १ जना मात्र उपस्थित हुँदा निजी ट्युसन पो हो कि भन्ने भान पर्छ। 

‘विद्यार्थी थोरै भए भनेर जिम्मेवारी सानो हुँदैन’, उनी भन्छिन्, ‘प्राविको जिम्मेवारी होस् वा माविको जिम्मेवारी सबै उस्तै रहेछ।’ 

विद्यालयमा अहिले स्थायी शिक्षक उनी मात्रै छिन्। अन्यमा १ बाल शिक्षक, १ राहत शिक्षक र १ कार्यालय सहयोगी छन्।

प्रधानाध्यापक राई अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। जसले गर्दा शिक्षक र विद्यार्थी दुवैको भूमिका निर्वाह गर्नुपर्ने बाध्यता उनलाई छ। 

कक्षा १२ पास गरेपछि उनले शिक्षक सेवा आयोगबाट प्राथमिक तहको लाइसेन्स परीक्षा पास गरिन्। लगत्तै उनले निमावि तहको अध्यापन अनुमति पत्रका लागि फर्म भरिन्। त्यसमा पनि सहजै उत्तीर्ण भइन्। 

त्यसपछि उनले  प्राथमिक तह र निमावि तह दुवैका शिक्षक सेवा आयोगको परीक्षामा भाग लिइन्।

प्राथमिक तहको पहिलो र दोस्रो पेपरमै नाम निकालिन् भने निमावि तहको पहिलो पत्रमा मात्र सफल भइन्। दोस्रो पत्रमा नाम निस्किएन।

‘पढ्नु मात्रै सजिलो रहेछ’, उनी भन्छिन्,‘पढाउन भने ठुलो जिम्मेवारी लिनु पर्छ, विद्यार्थी फेल भए भने अरूले भन्ने शिक्षकलाई नै हो।’ 

उमेरको चर्चा
प्रधानाध्यापक राईलाई उमेरको चर्चाले हैरान बनाइरहेको छ। एकदिन उनले टिकटकमा एउटा भिडिओ हालिन्, जहाँ उनी प्रधानाध्यापक भएको कुरा खुलाइएको थियो। 

यसपछि कसैले त्यही भिडिओलाई आधार बनाएर उनका विषयमा चर्चा गर्न थाले। धेरैलाई त्यो मन पर्‍यो। त्यसका स्क्रिन सट फेसबुक, तथा अनलाइनमा आउन थाले। 

उनले चाहे पनि, नचाहे पनि, उनको चर्चा बढ्दै गएको छ।

‘म क्यामेरामा बोल्नै सक्दिनँ, म यसरी कुरा गरेको पहिलोपटक हो’, उनी भन्छिन्, ‘भाइरल भनेर हल्ला हुन थालेको छ, भाइरल भन्ने मलाई मनै पर्दैन।’ 

नेपालखबरसँगको कुराकानीमा उनले आफूलाई धेरैले फोन गरेर हैरान पारिरहेको बताइन्।

ठट्टा गर्दै प्रधानाध्यापक राईले भनिन्, ‘हेर्नूस् तपाईँहरू यहाँ  आउनुभयो भनेँ त म बिदा नै बस्नुपर्छ, सबै जना यहाँ आए भने म त राजीनामा दिन्छु।’

गाउँमै पढिन्, गाउँमै प्रधानाध्यापक बनिन् 
२०६१ मंसिर ६ गते हर्दियामा जन्मिएकी स्मारिका परिवारकी एक्ली सन्तान हुन्। 

आमा गृहिणी हुन् भने बाबु विदेश बसेर फर्किएका छन्।

गाउँमै हुर्केकी र पढेकी उनले गाउँमै प्रधानाध्यापक हुने मौका पाएकी हुन्। 

बिहान ७ बजे घरबाट हिँडेकी स्मारिका विद्यालय पुग्दा १० बजिसक्छ। अनि घर फर्किंदा बेलुकी भइसक्छ। 

२० वर्षको उमेरमा प्रधानाध्यापक बनेकी उनी अहिले २१ वर्ष पुगिन्। 

आत्मविश्वास भयो भने जुन उमेरमा पनि जिम्मेवारी सम्हाल्न सकिने उनको अनुभव छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad