जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले २८ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङ अगाडि ३ घण्टा धर्ना दिएको छ।
जसपाले दलित तथा महिलाका लागि बेग्लै निर्वाचन क्षेत्र तोक्ने, जनसंख्या अनुपातका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभामा प्रदेशको जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नेसहित २८ बुँदे माग सहित आइतबार दिउँसो धर्ना दिएको हो।
जसपा मोरङका अध्यक्ष राजकुमार यादवले विगतका आन्दोलनका क्रममा गठन गरिएको न्यायिक छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे। उनले २८ बुँदे माग सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य रहेको पनि बताए।
यसअघि जसपा नेपालले मंसिर १० गते प्रधानमन्त्री सुशिला कार्कीलाई २८ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ। पार्टीले पुस १२ गते विराटनगरमा कोसी प्रदेश स्तरीय विशाल विरोध सभा आयोजना गर्ने तयारी पनि गरिरहेको जनाएको छ।

प्रतिक्रिया